सदरलाइनडटकम,
डुडुवा (बाँके) : कोरोना भाइरसको संक्रमणविरुद्ध डुडुवा गाउँपालिकाले सचेतनामुलक अभियान सञ्चालन गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट नागरिकहरु त्रसित बन्न थालेपछि गाउँपालिकाले बच्ने उपायका बारेमा चेतनामुलक अभियान थालेको हो ।
वडा नं.ं २ को बेतहनीमा बुधवार नागरिक सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागि स्थानीयहरुलाई कोरोना भाइरसको सक्रमण, यसका लक्षण, प्रभाव, समस्या, बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानी र पुर्वतयारीका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोरोनाबारे सबैलाई बुझ्न जरुरी भएको र यसको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिए । गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच तथा गुणस्तरीय सेवाका लागि विशेष जोड दिएको भन्दै अध्यक्ष चौधरीले सेवाबाट बञ्चित रहेका नागरिकका लागि सामुदायिक स्वास्थ्य सेवा इकाई स्थापना गर्ने योजना रहेको बताए ।
अभियानाका क्रममा नागरिकहरुलाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य सरसफाई र सावधानीका बारेमा जानकारी गराइएको थियो । गाउँपालिकाको भौगोलिक क्षेत्र सीमा नाकासंग जोडिएकाले कोरोना संक्रमणको जाँचका लागि सीमास्थित ३ वटा स्थानमा हेल्थ डेक्स स्थापना गरिने भएको छ ।
त्यसका लागि आवश्यक प्राविधिक तयारी थालिएको छ । त्यस अवसरमा अध्यक्ष चौधरीले वडा नंं २ स्थित स्वास्थ्य चौकीको कार्यसञ्चालन भवन र वडा नंं ३ बनकटी स्वास्थ्य चौकीअन्तर्गत नवनिर्मित प्रसुती गृह भवनको उद्घाटन गरेका थिए ।