खजुरा गाउँपालिकास्तरीय बालअधिकार समिति पुनःगठन

२७ माघ २०७६, सोमबार १८:११
 

सदरलाइनडटकम,
खजुरा (बाँके)  : प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्वारा बाँके जिल्लामा सञ्चालन गरिएको बालिका संरक्षण परियोजनाको पहलमा खजुरामा बालअधिकार समितिको पुनःगठन गरिएको छ ।
पालिकास्तरीय सो समितिको पुनःगठन गर्नका लागि आयोजना गरिएको सो कार्यक्रममा पालिकाका सबै सरोकारवालाको सहभागिता रहेको भेलाले गाउँपालिकाका उपप्रमुख एकमाया विकको संयोजकत्वमा पालिकास्तरीय बालअधिकार समितिको पुनः गठन गरेकोे हो ।
पुनः गठन गरिएको समितिमा महिला वडा सदस्यहरु पूर्णिमा सुनार, सुमित्रा विक, वडा सदस्य निसार अली दर्जी, शिक्षा शाखाका टंक दाहाल, प्रहरी चौकी धनौलीका पोषणराज थपिलया, महिला बालबालिका सेवा केन्द्रका ताराकुमारी बस्नेत, बाँके युनेस्को क्लबका मिना जोशी, बालक्लब सञ्जालका बालिका मन्जुथापा मगर, अधिकारकर्मी पूर्णचन्द्र उपाध्याय लगायतलाई सदस्यमा राखिएको छ भने महिला तथा बालबालिका शाखाका प्रमुख सुशिला न्यौपानेलाई सदस्य सचिव तोकिएको छ ।
समितिमा पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि र अन्य केहीलाई एक दुई दिन मै मनोनित गरिने समितिका संयोजक तथा गाउँपालिकाका उपप्रमुख विकले जानकारी दिईन ।
उपप्रमुख विकले खजुरा गाउँपालिका भित्रका सबै बालबालिकाहरुको तथ्यांक संकलन गरेर उनीहरुको वास्तविक अवस्था पत्ता लगाई विशेष योजना बनाएर अगाडि बढ्नु पर्ने धारणा राखिन ।
उनले बालविवाह, लागु औषधको सेवन, बिद्यालय छोड्ने जस्ता समस्याहरु पालिकाभित्र रहेको जनाउँदै ती समस्या समाधानका लागि समितिले काम गर्ने जानकारी दिदै त्यसका लागि गैर सरकारी निकाय र विभिन्न संघ संस्थाहरुले पनि गाउँपालिकासंग हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिईन ।
कार्यक्रममा महिला तथा बालबालिका खजुरा शाखाका प्रमुख न्यौपानेले बालअधिकार समितिको कर्तव्य, अधिकार र कार्य क्षेत्र बारे बिस्तृत रुपमा जानकारी गराउँदै गाउँपालिकामा रहेका वालबालिका सम्बन्धी समस्याहरुबारे पनि छलफल गराएकी थिईन ।
यसअघि पनि सोही गाउँपालिकामा प्लान नेपालकै सहयोगमा बाँके युनेस्को क्लबको अगुवाईमा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी नीति तयार गरिएको थियो । सो नीतिलाई समेत गाउँपालिकाले पारित गरिसकेको गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा बाँके युनेस्को क्लबका महासचिव मिना भुषाल, कोषाध्यक्ष बुधेश जैसवाल, कार्यसमिति सदस्यहरु फिरदौस जहाँ र साहिल अन्सारी तथा कार्यकारी निर्देशक रवि तुलाधरको पनि उपस्थिति रहेको थियो ।

Next Post

शहिद स्मृति कप फुटबलको उपाधी मानवीलाई

२७ माघ २०७६, सोमबार १८:११
सदरलाइनडटकम, खजुरा (बाँके) : चन्द्रज्योति क्लव एल गाउँको आयोजनामा सञ्चालित तेस्रो शहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधी मानवी (एफसी) नेपालगञ्जले जीतेको छ । सोमवार भएको फाइनल खेलमा मानवी (एफसी) र चन्द्रज्योति क्लवबीच निकै प्रतिस्पार्धात्मक खेल भएपनि निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । पेनाल्टीमा मान्वीले ५ गोल […]