सदरलाइनडटकम,
हुम्ला : स्वास्थ्य समस्याका कारण हुम्लामा पुस २८ गतेदेखि माघ दोस्रो हप्तासम्म आठ जनाको मृत्यु भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।
हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायतका कारणले ज्यान गएकोे हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले जानकारी दिए । करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।
हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोबार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिए ।
