सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसममा शनिवारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले शनिवारदेखि मुलुकभरि मौसममा सुधार आउने बताए ।
अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको छ । विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन मौसमविद्हरुले सबैसँग आग्रह गरेका छन् ।
पश्चिमी वायुको प्रभाव तथा मौसमी प्रभावका कारणनै अहिलेको मौसममा परिवर्तन देखिएको बताउँदै उनले शुक्रवार दिउँसोसम्म मुुलुकभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिए । त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात परेको महाशाखाले जनाएको छ ।
त्यसैगरी शुक्रवार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जनजीवन प्रभावित
हिमपातका कारण हुम्लाको एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हुने सबै उडान स्थगित भएको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात नभएको भए तारा, सीता र समिट एयरका जहाजले आधा दर्जनभन्दा बढी उडान भर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । हिमपातका कारण सरकारी तथा गैससका कार्यालयमा सेवाग्राहीको उपस्थिति कमी आएको छ ।
अरू बेला सेवाग्राहीको बाक्लो उपस्थिति हुने सिमकोट गाउँपालिकामा बिहीबार थोरै सेवाग्राहीको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । त्यसैगरी मालपोत, जिल्ला प्रशासन कार्यालय, कृषि, पशु, बैङ्कजस्ता कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति कमी थियो ।
नाम्खा गाउँपालिकाको वडा ६ को हिमालपारिको गाउँ लिमी जाने दुईवटै नाका यारी र न्यालु लेक हिमपातपछि बन्द भएका छन् । तत्काल सो ठाउँमा जान सकिने अवस्था छैन । त्यसैगरी नाम्खाकै चालामा जाने बाटो बन्द भएको छ ।