भलिबलमा नेपाललाई ऐतिहासिक जीत

२८ कार्तिक २०७६, बिहीबार १८:२९
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो ।
ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई ३—० को सोझो सेटमा पराजित गर्यो । नेपालले पहिलो सेट २५—१३, दोस्रो सेट २५—१२ र तेस्रो सेट २५—८ ले जित्न सफल भयो । नेपाली महिला भलिबल टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो ।
प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको थियो । माल्दिभ्स शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो । नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३—० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ । नेपालले हालसम्म स्वर्णपदक जित्न सकेको छैन । २०१४ मा काठमाण्डौमा भएको दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलका लागि सबैभन्दा ठूलो पदक हो । सागमा नेपालले ३ कांस्य पदक जितेको छ ।

Next Post

तरुण दलको बन्दका कारण जनजीवन प्रभावित

२८ कार्तिक २०७६, बिहीबार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल तरुणदल बाँकेले आव्हान गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायात, विद्यालय, कलकारखाना व्यापार व्यावसाय प्रभावित भएका छन् । बाँके प्रहरीद्वारा अबैध हतियारसहित पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाहको रिहाईको मागका साथै प्रहरी प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्ताहरुलाई […]