पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैनः मन्त्री चौधरी

सदरलाइन संवाददाता १७ जेष्ठ २०८१, बिहीबार १९:२६
 

काठमाडौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरे पनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन । ‘कानूनले सम्पत्ति माथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भए पनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन । तल–तल त्यसको विषयमा जानकारी नै छैन’, मन्त्री चौधरीले भनिन्, ’आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू पछाडि सर्ने गरेको पाइन्छ ।’

यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको बताउँदै उनले महिलाको अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताईन । ३८÷३९ वटा महिला अधिकारसँग सम्बन्धित ऐन, कानून रहेको भन्दै मन्त्री चौधरीले संविधान सँगसँगै फौजदारी संहिता नेपाल संहिता ऐनभित्र पनि धेरै वटा कानूनहरू आएको बताईन ।


धेरै कानूनहरू कार्यान्वयन भएको अवस्था नरहेको बताउँदै उनले महिला अधिकारलाई सुनिश्चितता गराउनका निम्ति अझै मेहनत गर्न आवश्यक रहेको बताईन । ‘सबैको बजेट बढ्दै गयो तर, महिला मन्त्रालयको बजेटको सिंहावलोकनहरू झन् घट्दै गयो । पितृसत्तात्मक सोचलाई चिर्न आवश्यक छ । मन्त्रीको रूपमा मैले पनि सकेन र स्वयं राष्ट्रिय योजना आयोगमा रहनुभएका माननीय सङ्गीताज्यूले पनि सक्नुभएन’, मन्त्री चौधरीले भनिन्, ‘हामीसँग अहिले ७५३ वटै पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभियो । तर अहिले महिला मन्त्रालयको तल संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ । त्यो सेवाग्राही स्वयंले पनि महसुस गरिरहनुभएको छ ।’

अहिलेसम्म निर्माण भएका ऐन, कानूनको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीले बताए । अहिले बालविवाहको अवस्था विकराल बन्दै गएको भन्दै उनले यसको न्यूनीकरणका निम्ति पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताईन । उनले भनिन, ‘अहिले पनि बालविवाहको अवस्था विकराल बन्दै छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’

अप्ठ्यारोमा परेका, हिंसामा परेका महिलाहरूका निम्ति राज्यले नै उनीहरूको सुरक्षा गर्न सेल्टर हाउसहरू बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताईन । यी कुराहरू आवश्यक छ । त्यसका निम्ति बजेट चाहिन्छ । यसपालि केही गर्न सकिन्छ कि भनेर लागे तर निकै न्यून बजेटको व्यवस्था गरियो ।

महिला दिवस मनाउनुको औचित्यता रहेको भन्दै उनले यी कुरालाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको बताईन । मन्त्री चौधरीले भनिन, ‘तीन तहको निर्वाचन हुन्छ । यी सबै प्रतिस्पर्धाहरू हेर्दाखेरि साँच्चिकै महिलाको सबै कुराहरू आयो त ? विषयहरू आयो त भनेर हेर्दा महिलाको छुट्टै आन्दोलन आवश्यक छ कि भन्ने पनि लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हराएको छोरा आउने आशामा रहेकी सितानी थारु

१७ जेष्ठ २०८१, बिहीबार १९:२६
कोहलपुर (बाँके) : बैजनाथ गाउँपालिका–८ की ६५ वर्षीया सितानी थारुले आफ्नो छोरालाई नभेटेको पनि ८ वर्ष भयो । छोरा आउँछकी भन्ने आश अहिले पनि उनलाई लागि रहन्छ । उनी राती अबेरसम्म छोरा आउने आशाले घर बाहिरै कुरेर बस्छिन् । तर, छोरा भने अहिलेसम्म फर्किएनन् । उनलाई त्यो पिढी, आँगन र घर […]