नेपालगञ्ज कारागारबाटै धम्काउदै पैसा असुल्दै, एक पक्राउ

१३ आश्विन २०७६, सोमबार ०९:१९
 

सदरलाइनडटकम,नेपालगञ्ज  : बाँकेको नेपालगञ्ज कारागारमा ज्यानमार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई नेपालगञ्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ ।बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार नेपालगञ्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागार भित्रैबाट धम्काई नेपालगञ्जमा सञ्चालनमा विभिन्न टुर्स एण्ड ट्रभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो ।
प्रहरीका अनुसार धनबहादुरले आफु कारागारमा रहेको कारण ती टुर्स एण्ड ट्रभल्सबाट रकम असुल्नको लागि नेपालगञ्ज–२ मा बस्दै आएका उनका भतिजा २४ बर्षिय युवराज सुनारलाई प्रयोग गरी रकम उठाउने गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
प्रहरी उपरीक्षक ओलीले नेपालगञ्जमा विधिवत सञ्चालनमा रहेका सिम्ताली टुर्स एण्ड ट्रभल्स, पञ्चकोशी टुर्स एण्ड ट्रभल्स, देउती टुर्स एण्ड ट्रभल्स र नेपालगञ्ज टुर्स एण्ड ट्रभल्सले नेपालबाट भारतको विभिन्न स्थान जाने यात्रुको टिकट काटेर सीमापारी रुपैडिहाबाट बसमा चढाउने कार्य गर्दा धनबहादुरले कारागार भित्रैबाट ती टुर्स एण्ड ट्रभल्सका सञ्चालकलाई धम्काई प्रति सवारी साधन ४ हजार ८ सय असुल्ले गरेको पाईएको बताए ।
उनले भने–‘करिव अढाई वर्षदेखि धनबहादुरले कारागार भित्रैबाट ती टुर्स एण्ड ट्रभल्स सञ्चलकलाई धम्काई प्रति सवारी साधन ४ हजार ८ सयका दरले रकम असुल्ने गरेको पाएका छौ । धनबहादुरलाई यो काममा उनको भतिजोले सघाउने गरेकोले भतिजो युवराजलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छौ ।’
उनले धनबहादुरको आदेशमा दैनिक संकलन गरेको रकम विभिन्न व्यक्तिको नाममा आईएमई गरेर पठाउने गरेको तथ्य पाईएको बताए । प्रहरीले अढाई वर्षमा यसरी युवराजले १८–१९ लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसंधानमा बताएको जनाएको छ ।
प्रहरीका अनुसार उनले कारागारमा उपलब्ध हुने फोन सेवाको मार्फत ती टुर्स एण्ड ट्रभल्सलाई धम्काउने र उनका भतिजा युवराजले हरेक दिन ती ट्राभल्सबाट रकम लिने गरेका हुन ।
प्रहरी रेकर्ड अनुसार धनबहादुर माथि २०७१ बैशाख १२ सुधिरसिंह ठकुरीमाथि कुटपिट गरेको अपराधमा सजाय पाएको, २०७२ पुस १२ नेपालगञ्जमा एक व्यक्तिलाई फोनमा ५ लाख फिरौती मागेको अभियोगमा १३ महिना सजाय भोगेको र २०७४ पुस ३ गते नेपालगञ्ज–१का विशाल सुनारलाई खुडा प्रहार गरेको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका व्यक्ति हुन सुनार ।
सो केशलाई नजिकबाट अनुसंधान गर्दै आएका बाँके प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले भने–‘ कारगारमा रहेका सुनारले कारागार भित्रैबाट फोन प्रयोग गरी ‘मेरो मन्छ आउछ पैसा नदिए ठिक हुन्न’ भन्दै उनीहरु तथा उनीहरुका परिवारलाई थ्रेट दिने गरेको जानकारी आएपछि हामीले अनुसंन्धान सुरु गरेका हौ ।’ उनले धनबहादुरले धम्काएकाहरुबाट प्रत्यक दिन प्रति सवारी साधनबाट ४ हजार ८ सय रुपैया बुझेर ल्याउने गरेको पाईएको र अझ बिस्तृत अनुसंधान हुदै रहेको बताए । यसैबीच नेपालगञ्ज कारागरका जेलर भरत पाण्डेले सो घटनाबारे आफुलाई कुनै जानकारी नभएको बताए । राजधानी दैनिकबाट

Next Post

फिल्म ‘शोले’का कालियाको मृत्यु

१३ आश्विन २०७६, सोमबार ०९:१९
सदरलाइनडटकम, काठमाण्डौ : भारतको सर्वाधिक चर्चित फिल्म ‘शोले’का पात्र कालियाको निधन भएको छ । कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमवार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा निधन भएको हो । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर […]