सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकास्थित बेलौरी बजारमा रहेको सृजल सुनचाँदी पसलमा मंगलवार राती लाखौं मूल्य बराबरका सुनका गरगहना चोरी भएका छन् । पसलबाट २१ लाख मूल्य बराबरका सुनका गहना चोरी भएको पसलका सञ्चालक मीनबहादुर सुनारले बताए ।
पसल सञ्चालकका अनुसार तयारी अवस्थाको ५ आनाको सुनको तिलहरी, सुनकै ४ आनाको चन्द्रमा, सुनका चुरा ४ तोला, रानीहार ४ तोला, मंगलसुत्र ४ तोला, चक्रहार साढे दुई तोला, सुनको दाना साढे दुई तोला, पत्थर एक डिव्वा र चाँदी ७ किलो चोरी भएको छ । लकरमा राखिएका सुनका गहना झिक्न मेसिनले प्वाल पारेको भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
पसलमा जडान गरिएको सिसिटिभि बन्द गरिएको अवस्थामा फेला परेकाले पसलमा काम गर्ने कामदारहरूकै संलग्नताको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ ।
