लुक्लामा तीन सय बढी पर्यटक अलपत्र

३१ भाद्र २०७६, मंगलवार १६:३२
 

सदरलाइनडटकम,
सोलुखुम्बु : सोलुखुम्बुको चौँरीखर्कबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका १० वटा हेलिकप्टरमध्ये आठ वटा हेलिकोप्टर अझै बाटोमै रोकिएका छन् । बिहान केहीबेर मौसम सफा हुँदा चौँरीखर्कको सुर्के पुगेर फर्किएका १० वटा हेलिकप्टर मौसम खराबीका कारण विभिन्न ठाउँमा अवतरण गराइएका थिए ।
बाटोमा अवतरण गरिएकामध्ये दुईवटा हेलिकप्टर काठमाण्डौ आइपुगेका त्रिभुवन विमानस्थलले जनाएको छ । मौसम खराब हुँदा गएको शनिबारदेखि लुक्लामा उडान हुन सकेको छैन । लुक्लामा रोकिएका पर्यटक लिन सोमबार गएका आठ वटा हेलिकोप्टर मौसमका कारण ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमै रोकिएका थिए । मंगलवार बिहान केही बेर मौसम सफा भएको बेला लुक्लाभन्दा केही तल सुर्केबाट पर्यटक लिएर फर्कँदै गर्दा मौसमका कारण हेलिकप्टर काठमाण्डौ आइपुग्न नसेकका हुन् ।
अहिले सोलुखुम्बुको खरिखोलामा एक, सोलुखुम्बुकै बासामा दुई, काभ्रेको पाँचखालमा दुई, धुलिखेलमा एक रोशीखोलामा एक र रामेछापमा एउटा हेलिकप्टर रोकिएका छन् । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा लुक्लामा अहिले तीन सयभन्दा धेरै पर्यटक रोकिएका व्यवसायीहरुले बताएका छन् ।
मंगलवार मात्रै लुक्ला विमानस्थलमा ३० वटा उडान हुने तालिका रहेकोमा एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिए । सोलुखुम्बुको खुम्बु क्षेत्रमा सडक यातायातको व्यवस्था नहुँदा मौसममा खराबी आउँदा पर्यटकहरु अलपत्र पर्ने गरेका छन् ।

Next Post

‘स्थानीय तह र संघसंगठनको सहकार्य आवश्यक’

३१ भाद्र २०७६, मंगलवार १६:३२
सदरलाइनडटकम, नेपालगञ्ज : स्थानीय तह र संघसंगठनबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा नेपालगञ्जमा सम्पन्न दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरु उठान गर्न सुझाव दिइन् । उनले स्थानीय तह […]