सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौटमा परेको छ । विश्व बैङकले नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई छनौट गरेको मेयर डा. धवलशम्शेर राणाले जानकारी दिए ।
पाईलट परियोजनाअन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्जमा सोमवारदेखि अध्ययन शुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगञ्जका मेयर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशाकसीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गरेका थिए । टोलीले सोमवारनै जनप्रतिनिधी र कर्मचारीयसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
टोलीलाई वडाध्यक्ष प्रमोद रिजाल, विन्दुभुष्ण बस्नेतलगायतले सुझाव दिए । विश्व वैङ्कको विशेषज्ञ टोलीले नेपालगञ्जमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व, यसभित्रका राम्रा पक्ष र कमजोर पक्षको मुल्याङ्कनसमेत गर्ने भएको छ । पहिलो चरणमा टोलीले चारदिनसम्म नेपालगञ्जमा रहेर वित्तीय व्यवस्थापनका बारेमा जानकारी लिनेछ । करीब दुई महिनाभित्र प्रारम्भिक मस्यौदा तयार गरि सार्वजनिक गरिने टोली प्रमुख वेसेटले जानकारी दिए ।
टोलीले मुल्याङ्कनका क्रममा वजेटको समग्र पक्ष, सम्पत्ति र दायित्वको व्यवस्थापन, श्रोत परिचालन, लेखा परीक्षण लगायतका विषयमा अध्ययन गर्नेछ । मुल्याङ्कनका लागि ३१ वटा सूचक र ९४ वटा उपसूचक राखिएको बैङ्कको टोलीले जनाएको छ ।
विश्व बैङ्कले गर्ने मुल्याङ्कन आगामी दिनमा विश्व बैङ्कमात्रै नभएर अन्य दातृ निकायसँग सहकार्यका लागि उपयोगी हुने टोलीले जनाएको छ । आर्थिक अनुशासन, श्रोतको व्यवस्थापन सेवा प्रवाहमा अध्ययन केन्द्रित हुनेछ ।