अवैधरुपमा भित्र्याइएको खसी भन्सारमा बुझाइयो

२८ भाद्र २०७६, शनिबार १७:२८
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : अवैधरुपमा नेपाल भित्र्याइएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नं. को ट्रकमा शुक्रवार राति करीब १२ बजे कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएका खसी करीब पाँच लाख मूल्य बराबरको रहेको बताए । आवश्यक अनुसन्धानपछि ट्रक चालक कृष्णप्रसाद पराजुलीसहित खसीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको उनले जानकारी दिए । नेपालगञ्ज नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ ।
सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिई ल्याइएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको हो । नेपालगञ्जस्थित पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट खसीबोका तस्करी गरेर नेपालगञ्ज ल्याउने गरेको पाइएको छ ।
अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो पक्राउ गर्ने गरेको छ । दुई हप्ताअघि पनि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका ३९ खसीबोका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं ४ बैजापुरबाट तीन लाख २० हजार मूल्य बराबरका ३९ खसीबोका नियन्त्रणमा लिएको थियो ।

Next Post

शमशानघाटबाट फर्काइएका शिशुको मृत्यु

२८ भाद्र २०७६, शनिबार १७:२८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित बुलबुलियास्थित शमशानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको मृत्यु भएको छ । भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई शमशानघाट पुर्याएपछि जीवित देखिदाँ शुक्रवार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । करीव ६ सय ग्राम तौल रहेको महिना नपुगेको शिशु (छोरी)को […]