नेपालगञ्ज : गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विपिन आचार्यसहित अन्य चार जिल्लाका सिडिओ जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयको पछिल्लो निर्णय अनुसार जिम्मेवारी हेरफेर हुनेहरुमा बाँके, सर्लाही, इलाम र दोलखाका प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् ।
गृहको निर्णय अनुसार बाँकेमा श्रवणकुमार पोखरेललाई पठाईएको छ भने बाँकेका आचार्यलाई मन्त्रालय तानिएको छ । सर्लाहीमा कोमलप्रसाद धमला, इलाममा इन्द्रदेव यादव र दोलखामा टुवराज पोखरेललाई पठाइएको छ ।
गतसाता बाँकेको नेपालगञ्जमा भड्किएको धार्मिक विवाद समयमै नियन्त्रण गर्न नसकेपछि प्रजिअ आचार्यको सरुवाको चर्चा चलेको थियो । धार्मिक विवादमा बेलैमा स्थानीय प्रशासन र प्रहरीले पहल नदिँदा दुई समुदायबीच झडपको स्थिती संगै झण्डै एक साता कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो ।
सहसचिव आचार्यलाई गृह मन्त्रालयमा तानिँदा उनको ठाउँमा इलामका प्रजिअ पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि इलाममा, धमला दोलखा र यादव सर्लाहीमा सिडिओका रूपमा कार्यरत थिए । दोलखामा पठाइएका सहसचिव पोखरेल गृह मन्त्रालयमा कार्यरत थिए ।