नरैनापुरमा गाई संरक्षण अभियान सञ्चालित

१५ भाद्र २०७६, आईतवार १७:५०
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको संरक्षणका लागि एक घर एक गाई अनुदान सहयोग सञ्चालन गरिएको छ । गाउँपालिकाको सहयोगमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयले प्रतिबद्धता जनाएका छन् ।
‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ मटेहिया छाडा पशु व्यवस्थापन समितिका सचिव रामनिवास यादवले भने, ‘गौशालाको व्यवस्थापन र गाईको संरक्षणका लागि स्थानीयले स्वस्फूर्तरुपमा सहयोग गर्ने भएका छन्, प्रत्येक ६ महिनामा प्रति घर २० किलो गहुँ वा चामल दिने प्रतिबद्धता आएको छ, त्यसबाट हामीले गाईहरुको आहाराका लागि भुस, नुन र पराल किन्छौं ।’
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले पाँचपाँच वटा गाई संरक्षणको दायित्व लिएको सचिव यादवले बताए । गाउँपालिकाको सहयोगमा गत आर्थिक बर्षमा ३ वटा गाईगोठ बनाउनुका साथै गौशाला क्षेत्रमा तारजालीसमेत गरिएको छ । ‘गौशालाको व्यवस्थापन र गाई संरक्षणका लागि गाउँपालिकाले सबै सहयोग गर्छ, गौशालाका लागि गाउँपालिकाले १६ लाख लगानी गरिसकेको छ, चालू आर्थिक बर्षमा पनि थप ३० लाख लगानी गर्छौं,’ अध्यक्ष शाहले भने ।
अध्यक्ष शाहले हाल त्यहाँ भएका गाईहरुको संरक्षणमा ध्यान दिँदै नेपालगञ्ज क्षेत्रमा रहेका छाडा गाईहरुलाई पनि मटेहिया गौशालामा ल्याएर संरक्षण गरिने जानकारी दिए । उनले ३ जना गाई हेरालुको पारिश्रमिक पनि गाउँपालिकाले ब्यहोर्ने बताए ।
दश महिनादेखि सञ्चालनमा आएको मटेहिया गौशालामा हाल करीब ३ सय गाई रहेका छन् । गौशाला क्षेत्रमा गड्यौंले मल उत्पादनको काम पनि शुरु भइसकेको व्यवस्थापन समितिका सचिव यादवले बताए ।

Next Post

जानकी गाउँपालिकाको वार्षिक समिक्षा

१५ भाद्र २०७६, आईतवार १७:५०
सदरलाइनडटकम, जानकी, (बाँके) :  बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा भएका कार्यको आईतवार वार्षिक समिक्षा गरेको छ । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले विभिन्न समस्याका वावजुद् पनि अधिकांश विकास निर्माणका योजना सम्पन्न भएको बताउँदै चालु आर्थिक वर्षमा थप उपलब्धी हासिल हुनेगरी काममा खट्न कर्मचारीलाई निर्देशन दिए । […]