‘गाई मृत्यु घटनाको छानबीन समिति गठन गरिने’

१३ भाद्र २०७६, शुक्रबार १८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेस्थित नेपालगञ्जको कान्जिहाउसमा रहेका छाडा पशुचौपायाहरुलाई सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही पशुचौपायाहरु मरेको भन्ने विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । सुर्खेतको कटकुवासम्म ट्रकमा र त्यहाँबाट पैदल दैलेखको श्रीस्थानसमेतका क्षेत्रमा पुर्याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको विभिन्न समाचारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उपमहानगरले जनाएको हो ।
कार्यवाहक मेयर सुनिलसिँह हमालद्वारा शुक्रवार बेलुका जारी प्रेस विज्ञप्तिमा पशु चौपायहरु अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले भन्ने विषयमा यथार्थ छानविनका लागि प्रशासनसँगको समन्वयमा छानविन समिति गठन गरिने उल्लेख छ । छाडा पशुचौपायाका कारण दिनहँु जसो हुने सवारी दुर्घटनाको न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि छाडा पशुचौपायालाई सुरक्षित स्थानमा स्थानान्तरण अत्यावश्यक रहेकाले स्थानीय प्रशासन समेतको समन्वयमा कान्जिहाउसमा रहेका छाडा पशुचौपायालाई सुर्खेत हुँदै दैलेख जिल्लाको सुरक्षित स्थानमा पुर्याउने पवित्र उद्देश्य बमोजिम सुरक्षित साथ छाडा पशु चौपायालाई पठाईएको विज्ञप्तिमा भनिएको छ ।
‘नेपालको संविधानअनुसार, गाई राष्ट्रिय जनावर भएको, हिन्दु धर्मावलम्बीहरुले माताको रुपमा पुजा र सम्मान गर्ने भएकाले गाईलगायत अन्य पशुको उचित संरक्षण र व्यवस्थापनका लागि उपमहानगरपालिका सदैव सचेत र संवेदनशिल रहँदै आएको छ र रहनेछ ।’, विज्ञप्तिमा भनिएको छ,–‘अन्त्यमा छाडा पशु चौपाय ब्यवस्थापन सम्बन्धि चुनौतीलाई सम्बोधन गर्नका लागि सम्पूर्ण नागरिक समाज, सामाजिक तथा धार्मिक संघसंस्था, सञ्चारकर्मी, स्थानीय, प्रदेश तथा संघीय सरकार समेतको समन्वय र सहकार्यका लागि उपमहानगरपालिका सबैमा हार्दिक अपिल गर्दछ ।’
सुर्खेतको कटकुवास्थित जंगलमा २३ वटा गाई शुक्रवार बिहान मृत अवस्थामा भेटिएका छन् । नेपालगञ्जबाट दैलेखको श्रीस्थानकालागि लगिएका गाईहरु सुर्खेतको जंगलमा मृत भेटिएपछि सामुहिक गौहत्या भएको भन्दै चौतर्फी बिरोध भईरहेको छ ।

Next Post

मरेका पशुचौपायाको संख्या चौंतिस पुग्यो

१३ भाद्र २०७६, शुक्रबार १८:५२
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : सुर्खेतमा मरेका पशुचौपायाको संख्या ३४ पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा पशुचौपाया दैलेख लैजाने भन्दै ल्याएर शुक्रवार सुर्खेतका जंगलमा छाडिएका थिए । यसैक्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् । १ सय ४४ वटा […]