सदरलाइनडटकम,
कैलाली : बस र अटो ठोक्किँदा कैलालीमा एकजनाको मृत्यु भएको छ । बस र अटो ठोक्किँदा गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको से १ ह २११४ नम्बरको अटो शनिवार बिहान एकआपसमा ठोक्किँदा अटोमा सवार कोलीको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घाइते हुनेमा अटो चालक गोदावरी नगरपालिका–१ विजयनगरका २६ वर्षीय मानबहादुर विक, गोदावरी नगरपालिका–६ कोली कटानका ५० वर्षीय नखरी कोली, २५ वर्षीय अर्जुन कोली, २५ वर्षीय दुर्गा कोली रहेका छन् । घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
