राप्ती नदीमा पानीको स्तर खतराभन्दा माथि

२८ असार २०७६, शनिबार १६:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लगातारको वर्षातपछि राप्ती नदीमा पानीको सतह बढेपछि बाँके प्रशासनले नदी आसपासका बासिन्दालाई सजग गराएको छ । राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सजग गराएको हो । राप्ती नदीमा पानीको सतह तीब्र गतिमा लगातार बढिरहेको बाढी मापन केन्द्रले जनाएको छ ।
शनिवार अपरान्ह सवा चार बजेसम्म कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५.६९ मिटर पुगेको बाढी मापन केन्द्रले जनाएको छ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगे खतराको मानिन्छ भने ५.४० मिटर पुगे चेतावनी दिने गरिएको छ । चेतावनीको स्तरमा पानीको सतह पुगेमा राप्ती नदी आसपासका झण्डै एक सय गाउँ डुवानमा पर्ने गर्दछन् ।
कुसुममा आएको बाढी डुडुवा गाउँपालिका–१, होलिया पुग्न चार घण्टा लाग्ने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । यसैबीच बाढीको सम्भावनालाई दृष्टिगत गर्दै पूर्वतयारी गरिएको भुजेलले बताए । उनले उद्धार सामग्री, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले बाढीबाट धन, जनको क्षति हुन नदिन पूर्वतयारी गरिएको जानकारी दिए । बाढी आएको सूचना पाएको पाँच मिनेटमा उद्धार टोली घटनास्थल तर्फ जाने गरि व्यवस्था मिलाइएको उनले दाबी गरे ।

Next Post

खजुराका अध्यक्ष कक्षपतिको नेपालगञ्जमा स्वागत

२८ असार २०७६, शनिबार १६:३९
सदरलाइनडटकम, नेपालगञ्ज : उज्वेकस्तानमा आयोजित ग्रीन एकोनोमी सम्बन्धी कार्यक्रममा सहभागी भई दीगो कृषि तथा हरित खजुराको लागि सम्झौता गरेर फर्किएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई नेपालगञ्ज विमानस्थलमा शनिवार स्वागत गरिएको छ । खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, खजुरा गाउँपालिका नेकपाका अध्यक्ष राजकुमार विक, वडा नं. […]

सम्बन्धित