सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा निर्माण शुरु भएको क्षेत्रीय कारागारको काम सन्तोषजनक नभएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको छ । हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोविलाईजेशन बापतको सात करोड ६ लाख रुपैयाँ फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना ईकाई नेपालगञ्जले जनाएको छ । बाँकेको नौवस्तामा कारागार निर्माणका लागि पप्पु–रसुवा कन्स्ट्रक्शनले ठेक्का पाएको थियो ।
तीन बर्षे सम्झौता यहि कात्तिक ४ गते सकिँदैछ । तर सम्झौताको अवधी समाप्त हुने बेलासम्म ४ प्रतिशतमात्रै काम गरेपछि कार्यालयले मोविलाईजेशन बापत उपलब्ध गराएको सात करोड ६ लाख रुपैयाँ फिर्ता ल्याएको कार्यालय प्रमुख सुबास बस्नेतले जानकारी दिए । ५३ करोड कुल बजेट रहेकोमा पप्पु–रसुवा कन्स्ट्रक्शनले ३८ करोडमा ठेक्का सकार गरेको हो । क्षेत्रीय कारागारको क्षमता तीन हजारको रहेको छ ।
