बर्दिया : सोमबारदेखि परेको वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ । स्थानीय खोला र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ७ र ८ मा पर्ने विभिन्न गाउँका ६० भन्दा बढी घर डुबानमा परेका हुन् ।
नगरपालिकाको वडा नम्बर २ मा पर्ने आम्बासा गाउँका ३५ वटाभन्दा बढी घर डुबानमा परेका वडा नम्बर २ का वडाअध्यक्ष कमल चपाईँले जानकारी दिए ।
त्यस्तै, वडा नम्बर ७ को कर्मेला टोल र ८ भुडकैया कालीगौडी आसपासका टोलका केही घर डुबानमा परेका नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिइन् ।
नगरपालिकाबाट मेयर तिलकराम लम्साल, उपमेयर विनाकुमारी भट्टराईसहित वडाअध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवी र स्थानीयबासिन्दाहरु डुबानमा परेकाहरुको उद्धारमा खटिएका छन् । डुबानमा परेकाहरुलाई रोबर बोटको सहायतामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ ।
त्यस्तै, सोमवार रातीदेखिको अविरल वर्षाले बबई नदीमा पानीको सतहले खतरा तह पार गरेकाले दिउँसो २ बजेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।