लिबियामा हवाई आक्रमण हुँदा ४० को मृत्यु

१८ असार २०७६, बुधबार १४:४६
 

सदरलाइनडटकम,
काठमाण्डौ : लिबियाको आप्रवासी शिविरमा भएको हवाई आक्रमणमा कम्तीमा ४० जनाले ज्यान गुमाएका छन् । लिबियाको राजधानी त्रिपोलीको पूर्वी भागमा भएको आक्रमणमा अन्य ८० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परेर ज्यान गुमाउनेमा धेरै अफ्रिकी आप्रवासीहरु रहेका छन् ।
पछिल्ला केही वर्षमा यूरोप जाने आप्रवासीहरुका लागि लिबिया प्रमुख केन्द्र बनेको छ । लामो समयसम्म शासन सत्ता सम्हालेका मुअम्मर गद्दाफी सन् २०११ अपदस्थ भएपछि र मारिएपछि लिबिया हिंसात्मक र विभाजनको संघारमा छ । आपातकालीन सेवाका प्रवक्ता ओसामा अलीले अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम एएफपीलाई भने, ‘हवाई आक्रमणको समयमा शिविरमा एक सय २० जना थिए ।’
आक्रमणमा मृतकको संख्या थप बढ्न सक्ने उनले बताए । संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारका प्रधानमन्त्री फयज अलसेराले त्रिपोलीको पूर्वी उपनगर ताजौरामा भएको हवाई आक्रमणमा लिबियन नेशनल आर्मीको हात रहेको आरोप लगाएका छन् । यद्दपि यो प्रमाणित भैसकेको छैन । आप्रवासी शिविरमा भएको आक्रमणलाई ‘पूर्व निर्धारित’ र ‘जघन्य अपराध’ भएको एक बयानमा बताइएको छ । लिबियन नेशनल आर्मीको नेतृत्व खलीफा हफ्तारले गर्दै आइरहेका छन् जसलाई निकै शक्तिशाली मानिन्छ ।
संयुक्त राष्ट्रसंघको शरणार्थी संस्थाले पनि आप्रवासी शिविरमा भएको आक्रमण निकै चिन्ताको विषय भएको प्रतिक्रिया दिएको छ । यूरोप जाने हजारौँ मानिसहरु सरकारले सञ्चालन गरेको आप्रवासी शिविरमा शरण दिँदै आइरहेका छन् । मानवअधिकारसम्बन्धी काम गर्ने संस्थाहरुले पनि यी आप्रवासी शिविरहरुको अवस्थालाई लिएर आलोचना गर्दै आइरहेका छन् ।
(एजेन्सी)

Next Post

देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने

१८ असार २०७६, बुधबार १४:४६
सदरलाइनडटकम, काठमाण्डौ : देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने भएको छ । हाल मनसूनी न्यूनचापीय रेखा दक्षिणतिर रहेकाले नेपालको सबैतिर पानी पर्न जुलाई ७ कुनुपर्ने मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा मध्यभारतमै रहेकाले मनसुन कमजोर भएको हो । १३ दिन अगावै मनसून नेपाल […]