सदरलाइनडटकम,
बारबर्दिया (बर्दिया) : बार्दियाको बारबर्दिया नगरपालिकाले पश्चिम तराईका थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमियाँको रोग पहिचान नियन्त्रण र रोकथाम अभियानको घोषणा कार्यक्रम सुरु गरेको छ ।
उपप्रधान मन्त्री एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आईतबार एक कार्यक्रमका बीचमा सो कार्यक्रमको घोषणा गरेका हुन । उनले सर्ने रोगहरु भन्दा नसर्ने रोगहरु भयावह रुपमा देखा परेको भन्दै चिन्ता व्यक्तगरे ।
उनले सरकारले पश्चिम नेपालको तराईमा बसोबास गर्दै आएका थारु समुदायमा मात्र सिकलसेल र थाल्सेमियाको समस्या देखिएको भन्दै सो समस्यालाई समाधान गर्नको लागि सबै जिल्लामा ल्याब स्थापना गरी प्रत्येक व्यत्तिको रगत परिक्षण गर्नको लागि व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिने बताए ।
सो अवसरमा नेपाल स्वास्थ्य अनुसंधान परिषदले १० हजार ६७० घरधुरीका १ देखि २९ वर्ष उमेर समुहका २० हजार ११ जनाको रक्त संकलन गरी परिक्षण गरी जस मध्ये १ हजार ६ सय ९८ जनामा सिकल सेल रोग बाहक र १०४ जनामा सिकलसेल रोग रहेको तथ्याङ्क सार्वजनिक गरियो ।
बारबर्दिया नगरपालिकाका अध्यक्ष दुर्गाबहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिकलसेल एनिमिया रोगको बारेमा अध्ययन गर्ने भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, नेपाल स्वास्थ्य अनुसंधान परिषदका डा. अञ्जनी झा, डा श्याम बिकलगायतका चिकित्सक यसैगरी पत्रकार कमल पन्थी, रुद्र सुवेदी, विश्वराज पछलडंग्या, कृष्ण अधिकारी, यदव आचार्यलगायतका सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
बारबर्दिया नगरपालिकाले समुदायमा सिकलसेल एनिमियाका बारेमा जनचेतना फैलाउन कक्षा ९–१० को समाजिक विषयमा पाठ्यक्रम तयार गरी पढाउनुको साथै विभिन्न खालका गतिविधि सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम, पाँच नं. प्रदेस सांसद कृष्णा केसी नमुना, तिलकराम शर्मा, ठाकुरबाबा नगरपालिकाका मेयर धननाथ श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।