नरैनापुरमा विद्यार्थी भर्ना अभियान तीब्र

९ बैशाख २०७६, सोमबार १५:२९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : धेरै विद्यार्थी विद्यालय बाहिर रहेको बाँकेको नरैनापुर गाउँपालिकामा विद्यार्थी भर्ना अभियानलाई तिब्रता दिइएको छ । बैशाख २ गतेदेखि चलेको भर्ना अभियानका क्रममा घरघर र टोलटोलमा पुगेर भर्ना अभियानलाई तिब्रता दिइएको हो । शिक्षकहरुले घरदैलो कार्यक्रम गरिरहेको र गाउँपालिकाले टोलटोलमा पुगेर अभिभावकहरुलाई सचेत बनाउने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
वडा नम्बर १ कट्कुइँयादेखि शुरु भएको अभियान वडा नम्बर ६ गंगापुरसम्म पुग्नेछ । गाउँपालिकाका अध्यक्ष इस्यिताक अहमद शाहको नेतृत्वमा टोलटोलमा पुगेर अभिभावकहरुलाई सचेत बनाउनेदेखि लिएर गाउँपालिकाले प्रदान गर्ने शिक्षा तथा सरसफाई कार्डका बारेमा पनि जानकारी गराइरहेको बस्नेतले बताए । उनले बैशाख महिनासम्म शिक्षा तथा सरसफाई कार्डमा उल्लेख गरिएका ६ वटा प्रतिबद्धता पूरा नगरे गाउँपालिकाले दिने सेवा सुविधा रोक्ने जानकारी दिए । शौचालय नबनाउने र छोराछोरीलाई विद्यालय नपठाउने अभिभावहरुलाई यसबारे पनि सचेत गराइएको उनले जानकारी दिए ।
‘हर घरमा शौचालय, छोराछोरी विद्यालय’ भन्ने नारा तय गरेर अभियान चलाइरहेको गाउँपालिकाले यो बर्ष भर्ना दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ । टोलटोलमा पुगेका गाउँपालिका अध्यक्ष शाहले आफ्ना बालबच्चालाई विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे । गरिबी र विपन्नताका कारण विद्यालय जान नसकेका बालबालिकाका लागि विद्यालयले पोशाक र स्टेशनरी सामग्री उपलब्ध गराउने अध्यक्ष शाहले बताए । अभियानमा जनप्रतिनिधि, कर्मचारी सबै खटिएका छन् । नरैनापुर गाउँपालिकाले १५ बर्षदेखि ६० बर्ष उमेरका स्थानीयलाई साक्षर बनाउन यसै बर्षदेखि साक्षरता अभियान पनि चलाइरहेको छ ।

Next Post

अति विपन्न बालबालिकालाई सहयोग प्रदान

९ बैशाख २०७६, सोमबार १५:२९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका अति विपन्न परिवारका दलित, मुस्लिम, अपाङ्गता, एकल महिला र पिछडिएका समुदायका बालबालिकालालाई विभिन्न सामग्री उपलब्ध गराइएको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सोमवार एक कार्यक्रमको आयोजना गरि ति बालबालिकाहरुलाई सामग्री वितरण गरेको छ । बाँके जिल्लाअन्तर्गत ३५ जना एकल महिलालाई तीन महिने […]

सम्बन्धित