अति विपन्न बालबालिकालाई सहयोग प्रदान

९ बैशाख २०७६, सोमबार १८:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका अति विपन्न परिवारका दलित, मुस्लिम, अपाङ्गता, एकल महिला र पिछडिएका समुदायका बालबालिकालालाई विभिन्न सामग्री उपलब्ध गराइएको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सोमवार एक कार्यक्रमको आयोजना गरि ति बालबालिकाहरुलाई सामग्री वितरण गरेको छ ।
बाँके जिल्लाअन्तर्गत ३५ जना एकल महिलालाई तीन महिने निःशुल्क तालिम र खुट्टाले चलाउने सिलाई मेशिन, २९ जना अपाङ्गता भएकालाई ह्वील चियर, ४८ जना विद्यार्थीलाई साइकल, १ जनालाई मोबाईल मर्मत तालिम र ३ जना क्रोनिकल रोग लागेका विरामीलाई जनही रु ९० हजार २ सय ६० नगद सहयोग उपलव्ध गराएको छ । बाँकेका २४ जना छात्र र २४ जना छात्रा गरि जम्मा ४८ जनालाई सो सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले यो सहयोगले विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा ज्ञानको ज्योती जगाउनमा मदत पुग्ने भन्दै वास्तविक सहयोगको खाचो भएका विद्यार्थीलाई यसले सहयोग गर्नुका साथै थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले नगरमा विपन्न परिवारका बालबालिकाहरुले कतिपय समस्याका कारण राम्रो शिक्षा हासिल गर्न नसकेको भन्दै खासगरी मुस्लिम छात्राहरुलाई लक्षित गरि नेपालगञ्जको सल्यानीबागको माध्यमिक विद्यालयलाई छात्रा विद्यालय बनाउन लागेको बताए । उनले सो विद्यालयमा मुस्लिम छात्रालाई उर्दु भाषामा समेत अध्यायपन गराइने विपन्न असहाय परिवारको शैक्षिक स्तर बृद्धिका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नगर शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, वडाध्यक्षहरु बुद्धिसागर सुवेदी, सुनिलसिंह हमाल र कतार च्यारेटी नेपालका कार्यक्रम व्यवस्थापक इरसाद अली शेष लगायतले शैक्षिक सहयोगबारे धारणा राखेका थिए । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले विगत केही वर्षदेखि बाँके र बर्दियाका विपन्न परिवारका बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री नियमितरुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष सिद्दिकीले बताए । उनका अनुसार च्यारेटीले गरेको सहयोगप्रति नेपालगञ्ज उपमहानगरपालिका, प्रशासन र जिल्ला समन्वय समितिले धन्यबाद दिदै पं्रशसा प्रत्र प्रदान गरेको थियो ।

Next Post

शुटिङ्गमा गण्डकी २, प्रदेश ५ र पुलिसलाई एकएक स्वर्ण

९ बैशाख २०७६, सोमबार १८:४३
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्ज रंगशालामा जारी शुटिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तल व्यक्तिगत पुरुष तर्फ स्वर्ण पदक जित्यो । प्रदेश ५ ले एयर पिस्तोल समूह […]