सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : छुट्टाछुट्टै स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रोल्पाको माडी गाउँपालिका ५ सरी बस्ने २७ वर्षीया ज्योति परियारको चट्याङ लागेर सोमवार राति मृत्यु भएको छ । सोही ठाउँमा बस्ने अन्दाजी २६ वर्षीय रोशन परियारको घरमा खाना खाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै हावाहुरीसँगै परेको चट्याङले अछामको पन्चदेवल विनायक नगरपालिका ९ कालेकाडामा ६ जना गम्भीर घाइते भएका छन् । सोमवार राति परेको चट्याङबाट भिमपुरा नेपाली, राधिका शाही, कल्पना बोहरा, दिर्गे विक, ललु विक र जगत बोहरा घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगरपालिकाले सहयोग गर्ने पन्चदेवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले बताइन् ।
