सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयामा आगलागी हुँदा ४ वटा घरगोठ जलेका छन् । विहीवार साँझ ५ बजे लागेको आगो गाउँपालिकाको दमकलले आधा घण्टामै नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशंकर अहिर र जित अहिरको फुसले छाएको घरगोठ जलेको विश्वकर्माले बताए । खाना पकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने विश्वकर्माको अनुमान छ । आगलागीबाट केही लत्ताकपडा र अन्नपात जलेको उनले जानकारी दिए । गाउँपालिकामै दमकल भएकाले पहिले जस्तो ठूलो क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । क्षतिको अवस्था हेरेर पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत वितरण गरिने शाहले जानकारी दिए ।
फुसले छाएको र नजिक नजिक घर भएका कारण गर्मीयाममा बर्षेनी आगलागीबाट नरैनापुरमा ठूलो क्षति भइरहेको कुरालाई दृष्टिगत गर्दै गत बर्ष गाउँपालिकाले दमकल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । गाउँपालिकालाई फुसरहित बनाउने अभियान पनि चलिरहेको उनले जानकारी दिए ।