सदरलाइनडटकम,
काठमाण्डौ : बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रवार मध्यान्हसम्म २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुनसक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीवार अपरान्ह आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए । अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा ६ जनाको मृत्यु त्यसरी ज्यान जोगाउन हामफालेका कारण भएको थियो ।
एक जना वरिष्ठ अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिए । उनले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताए । ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
(एजेन्सी)