अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्

२२ फाल्गुन २०७५, बुधबार १८:३६
 

काठमाडौँ, / रासस  :  सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्ने लगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन ।
अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ गर्दैनन् । तीमध्ये रगतका कति प्रकारका तत्व प्रयोगमा आउँछन् र रगतको तत्व बिरामीका शरीरमा नमिलेका कारण कतिको अकालमा मृत्यु भयो भन्ने कुनै जानकारी छैन ।
सबैभन्दा बढी चिकित्सा विज्ञान अध्यन प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा रगतको खपत हुने बताइन्छ । विशेष गरी मिर्गौला प्रत्यारोपण, क्यान्सर, गर्भवती महिला, दुर्घटनालगायतमा रगतको माग धेरै हुने गर्दछ । सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालमा आफ्नै रक्त सञ्चार सेवा सञ्चालन रहेका छन् । अर्कोतर्फ रगतको ‘एन्टिबडी टेष्ट’ नेपालमा शुरुआत हुन सकेको छैन ।
यसैबीच केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले रगत सुपरीवेक्षण प्रतिवेदन (हेमोभिलिजेन्स ) २०१८ सार्वजनिक गरेको छ । सुरक्षित रगत सङ्कलन, भण्डारण, परीक्षण, रगततत्वको निर्माणलगायतदेखि बिरामीले प्राप्त गर्ने अवस्थालाई ‘हेमोभिलिजेन्स’ भन्ने गरिन्छ ।
दुई सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग, शहीद गङ्गालाल हृदयरोग तथा दुई निजी क्षेत्रका ओम र नेशनल क्यान्सर अस्पताललाई सो प्रतिवेदनका लागि छनोट गरिएको थियो तर शहीद गङ्गालाल हृदयरोग र ओम अस्पताले प्रतिवेदनका लागि तथ्याङ्क उपलब्ध नगराएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका निर्देशक प्रा डा हरिशचन्द्र उप्रेतीले प्रतिवेदन सार्वजनिक गर्दै रगत जीवन बचाउने औषधि भएकाले यसको सुरक्षामा ध्यान दिन आग्रह गर्दै रगतलाई कसरी सुरक्षित गराउने भन्ने विषयमा प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मापदण्ड बनाएको बताउनुभयो ।
रक्त सञ्चार सेवालाई अझ गुणस्तर बनाउने ध्येयले अध्ययन प्रतिवेदन कार्य शुरुआत भएको जानकारी दिँदै उहाँले अगामी दिनमा सरकारी तथा निजी क्षेत्रका अस्पतालमा रहेका रक्त सेवा हेमोभिजिलेन्स कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो । प्रयोगशालाका विज्ञ डा रेखा मानन्धरले प्रतिवेदनमा रिपोर्टिङ भएका दुई अस्पतालबाट एक हजार १२ रगतका नमूना आएको जानकारी दिनुभयो । प्रयोगशालाका पूर्वनिर्देशक डा गीता शाक्यले सबै अस्पताल हेमोभिजिलेन्स कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो ।

Next Post

बक्सिङमा दाङ प्रदेशकै च्याम्पियन

२२ फाल्गुन २०७५, बुधबार १८:३६
सदरलाइनडटकम, कञ्चनपुर : बक्सिङमा दाङ प्रदेश नं. ५ को च्याम्पियन बन्न सफल भएको छ । सुदुरपश्चिमको महेन्द्रनगर कञ्चनपुरमा फागुन १९ देखी २२ गतेसम्म संञ्चालित प्रतियोगितामा शानदार र शसक्त प्रर्दशन गरेको दाङले ७ स्वर्ण, ४ रजत पदक हात पार्दै प्रदेश नं ५ को च्याम्पियन बन्न सफल भएको हो । प्रदेश नं […]