सदरलाइनडटकम,
नेपालगञ्ज : स्मार्ट मन्टेश्वरी स्कूल बनाउनका लागि नेपालगञ्जमा शैक्षिक तथा आध्यात्मिक महोत्सव २०७५ भोलि (बुधवार)देखि सञ्चालन हुने भएको छ । ग्ल्याडसम किन्डर गार्टेन एकेडेमी नेपालगञ्जको आयोजनामा भोलिदेखि सुरु हुने शैक्षिक तथा आध्यात्मिक महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने छ ।
बागेश्वरी मन्दिर परिसरमा हुने श्रीमद् भागवत कथा एवं श्रीमद् भागवत गीता प्रवचन स्वसंमवेद ज्ञान महायज्ञ २०७५ को शुभ आयोजना गरिएको आयोजकले जनाएको छ । मन्टेश्वरी स्कूललाई नेपालगञ्ज शहरकै पहिलो स्मार्ट स्कूल बनाउने पवित्र उद्देश्यले स्कुलको भौतिक पुर्वाधार निर्माणका लागि सहयोगार्थ आयोजना गर्न लागेको मन्टेश्वरी स्कुलका डाइरेक्टर लोकबहादुर शाहले जानकारी दिए । नेपालगञ्ज जाऔं, शैक्षिक तथा आध्यात्मिक महोत्सवमा रमाऔं भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको डाइरेक्टर शाहले बताए ।
शैक्षिक तथा आध्यात्मिक महोत्सवमा हरेक दिन विहान ७ देखि राती १० बजेसम्म प्रवचन हुने जनाईएको छ । प्रवचनमा भारत बृन्दाबनधामबाट पण्डित ऋषीकेश पोख्रेलले नेपाली भाषामा प्रवचन दिने छन् भने डा. स्वामी मस्त बाबा गुरुले नेपाली, हिन्दी र मारवाडी भाषामा प्रवचन दिने बताइएको छ ।
पहिलो दिन बिहान बागेश्वरी मन्दिर परिसरबाट कलश यात्रा निकालेर नगरका विभिन्न भागको परिक्रमा गरि पुनः बागेश्वरीमा पुगी महोत्सव शुभारम्भ गरिने आयोजकले जनाएको छ ।