राष्ट्रिय विभूति शंखधर शाख्वा चोक बारे ज्ञापन

१७ माघ २०७५, बिहीबार ०८:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिका भित्र राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे बाँकेका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर थापा मगरको नेतृत्वमा गएको विभिन्न १३ वटा संघसंस्थाहरुका अध्यक्ष लगायतको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नं. १८ कारकाँदो चोकमा मल्लकालीन राजाको शासनकालमा नेपालका सबै नागरिकको ऋण तिरेर देशलाई ऋण मुक्त घोषणा गर्ने शंखधर शाख्वालाई नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिएकोल प्रजातन्त्रको पुनःस्थापना पछि राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको हुँदा उनको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे १७ वर्षदेखि पहल भइरहेको छ ।
तत्कालीन खासकारकाँदो गाउँ विकास समितिको मिति २०५८/७/५ मा भएको गाउँ परिषद्को बैठकबाट सो स्थान र चोकलाई राष्ट्रिय विभूति शंखधर शाख्वा चोकको नामाकरण र राष्ट्रिय विभूतिको प्रतिमा स्थापना गर्ने सर्वसम्मत निर्णय गरेको थियो र उक्त चोकका लागि नेवाः पुचः बाँकेको अगुवाई र अग्रसरतामा मन्त्रालयसम्म प्रक्रिया अघि बढाइएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज नगर भित्र ‘घण्टाघर र उद्योग स्तम्भ’ निर्माण गर्ने र सो स्तम्भको एक भागमा राष्ट्रिय विभूति शंखधर शाख्वाको मूर्ति राख्ने सहमति र प्रतिवद्धता भएको, तर पछि संघले उपेक्षा र उदासिनता देखाएकोमा ज्ञापन पत्रमा गम्भीर आपत्ती जनाइएको छ ।
ज्ञापन पत्रमा प्रमुख जिल्ला अधिकारीलाई प्रमुख राजनीतिक दल, सरोकारवाला संघसंस्थासंग समन्वय र सर्वपक्षीय बैठक बोलाई छिनोफानो गर्न आवश्यक पहल गरी राष्ट्रिय विभूतिको सम्मान र सहयोग गर्नका लागि आग्रह गरिएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफुले सकारात्मक पहल गर्ने आश्वासन दिए । सो अवसरमा नेवाः पुचःका पार्षद् पूर्णलाल चुके, नेवाः देयः दवू बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल मगर संघका सचिव गोपाल पुन, मनोज श्रेष्ठ लगायतले आफ्नो कुरा राखेको नेवाः पुचः बाँकेका सचिव विवेक श्रेष्ठले जानकारी दिए ।
लगत्तै सोही प्रतिनिधि मण्डल नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणालाई भेटेर आवश्यक सहयोगका लागि ध्यानाकर्षण र पहलका लागि आग्रह गरेको थियो ।

Next Post

नेपालगञ्ज रंगशालामा दुबो लगाईंदै

१७ माघ २०७५, बिहीबार ०८:०५
सदरलाइनडटकम, नेपालगञ्ज : ८औँ राष्ट्रीय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थल नेपालगञ्ज रंगशालामा बर्मुडा घाँस(दुबो) लगाउने कार्य शुरु भएको छ । भारतको कोलकाताबाट दुबो ल्याएर मैदानमा लगाउन लागिएको हो । सोही रंगशालामा प्रतियोगिताको उद्घाटन हुनेछ । जमिन सम्याउनेसहित दुबो लगाउने कार्यमा करीब ३६ लाख रुपैयाँ खर्च हुने भएको छ । रंगशालाका लागि […]