सदरलाइनडटकम,
नेपालगञ्ज : उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको छ । न्यायपरिषद्ले क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा सुनुवाई गरेको ठहर गर्दै न्यायाधीश शाहीलाई बर्खास्त गरेको हो ।
उनलाई उच्च अदालत पोखरामा कार्यरत रहँदा गोर्खा ब्रुअरीको राजस्व विवादसम्बन्धी एक रीटमा क्षेत्राधिकार भन्दा बाहिर गएर सुनुवाई गरेको आरोप लागेको थियो । उच्च अदालत पोखरामा रहँदा उक्त रीटको सुनुवाई गर्ने न्यायाधीशहरू शाहीसहित जीवनहरी अधिकारी र रामचन्द्र यादवमाथि छानबिन गर्न सर्वोच्च अदालतले यसअघि आदेश दिएको थियो ।
त्यसपछि न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल सम्मिलित एक सदस्यीय छानबिन समिति बनाएको थियो । आफूहरूमाथि छानबिन हुने देखिएपछि न्यायाधीशद्वय अधिकारी र यादवले पदबाट राजीनामा दिएका थिए । पदमै रहेका न्यायाधीश शाहीको त्यसपछि नेपालगञ्ज सरुवा भएको थियो ।
