सचिव कुट्ने मन्त्रीमाथि कडा कारबाही गर्न माग

३० पुष २०७५, सोमबार १६:५६
 
तस्बिर : उज्यालो अनलाइन ।

सदरलाइनडटकम,
काठमाण्डौ : कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका हुन ।
आइतवार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । त्यो घटना निन्दनिय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले त्यस सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् । कर्मचारीको भावनामा आघात पुग्ने गरी घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कारबाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताए ।
कर्मचारीहरुमाथि पटक–पटक दुव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । उपाध्यक्ष पोखरेलले कार्य क्षेत्रमा कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
यता, मन्त्री पण्डितले भने त्यो घटनामा गल्ती गर्नेमाथि कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ को सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै उनले प्रतिवेदन आएपछि दोषीमाथि कडा कारबाही आश्वासन दिए । मन्त्री यादवले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकी नराख्ने पनि स्पष्ट पारे ।
मन्त्री पण्डितले घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । उनले त्यो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरुलाई सचेत गराए । प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले समेत आपत्ति जनाउँदै आएका छन् ।

Next Post

सहायता कक्षले सेवाग्राहीलाई सहजता

३० पुष २०७५, सोमबार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : बाँकेको कोहलपुर नगरपालिका सहित सम्पुर्ण वडा कार्यालयमा सहायता कक्ष सञ्चालन भएसँगै सेवाग्राहीले सहजता महशुस गरेका छन् । नागरिक सहायता कक्ष सञ्चालन भएपछि नगरपालिका र वडा कार्यालयहरु बाट प्रदान गर्ने सेवाहरू लिन सेवाग्राहीलाई सहज भएको हो । वडा कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन भएपछि वडा कार्यलयलाई काम […]