अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिंदै

२९ पुष २०७५, आईतवार १४:२५
 

सदरलाइनडटकम,
इलाम : पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको छ । स्वास्थ्य शिक्षा सुधारलगायतका ६ वटा माग राखी गत बुधबारदेखि अनशनमा बसेका केसीको रगत तथा पिसाब परीक्षण गर्न सकिएको छैन ।
नशा नभेटिँदा रक्त परीक्षण गर्न नसकिएको उनका सहयोगी डा. रामकृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पिसाब नआउँदा पिसाबको परीक्षण पनि गर्न सकिएको छैन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीको यो १६ औँ अनशन हो । गत बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा उनी अनशन बसेका हुन् ।
यसअघि भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा बनाएका छन् । १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न उनले माग राखेका छन् ।
केसीले गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरूलाई बर्खास्ती लगायतका कारवाही गर्न पनि माग गरेका छन् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरू पुनः सो संस्थान मै फिर्ता गर्नुपर्ने उनको माग छ । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद दिन लागिएको सम्बन्धन तत्काल रोक्नुपर्ने र दोषी पदाधिकारीहरूलाई कारवाही गर्नुपर्ने उनको अर्को माग छ ।
सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने उनको माग छ । इलाम, उदयपुर, डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न उनले माग गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् । मेडिकल शिक्षाबाहेक उनले यसपटक अन्य दुई माग पनि राखेका छन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयलाई उनले उठाएका छन् ।
निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन र प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन उनले माग राखेका छन् । १० वर्ष लामो सशस्त्र द्वन्द्वका दोषीहरूलाई अन्तर्राष्ट्रीय कानूनअनुसार दण्डित गर्न उनले माग राखेका छन् ।

Next Post

जवानको नेतृत्वको लागि याकुब र शकिल भिड्दै

२९ पुष २०७५, आईतवार १४:२५
सदरलाइनडटकम, नेपालगञ्ज  : जडिबुटी व्यावसायी संघ नेपाल (जवान) को नयाँ कार्य समितिको लागि आईतबार निर्बाचन हुँदै छ । तीन वर्षे कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षको लागि मात्र मतदान हुन लागेको हो । अध्यक्षमा निबर्तमान अध्यक्ष तथा प्रदेस नं. ५ का सांसद मो. याकुव अन्सारी र निबर्तमान उपाध्यक्ष हाजी शकिल अहमद […]

सम्बन्धित