सदरलाइनडटकम,
नेपालगञ्ज : परीक्षणका क्रममा दुईबर्षअघि भत्केको मुलनहरको चार किलोमिटर दुरीमा यसबर्ष पनि परीक्षणमै मुल नहर भत्केपछि निर्माण कार्यमा अनियमितता भएको भन्दै बाँकेबासीले राज्यको ध्यानाकर्षण गराए ।
विकासका लागि नागरिक सरोकार समितिले स्थलगत अनुगमन गरी तत्काल छानविनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । सिक्टा सिँचाईको पशिचमतर्फको ४५ किलोमिटर लामो मुल नहरको क्षमता ५० क्यूमेक्स भएपनि परीक्षणमा ४ क्यूमेक्स मात्रै छोडिंदासमेत यसबर्ष बर्षात्मा नहर भत्किएको हो ।
सोही सम्बन्धमा छानबिन पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार अनियमितता भएको भन्दै आयोजना प्रमुखसहित २१ जना बिरुद्ध मुद्दा दायर गरेपछि समितिले ढिलो भएपनि आफुहरुको माग सुनुवाई भएको जनाएको छ । समितिका संयोजक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले अब अन्य ठुला योजनामा अख्तियार र सरकारको ध्यान पुग्नुपर्ने माग गरे ।
नेपालगञ्जबासीले फोरलेन सडक निर्माणको छानविन गर्न समेत माग गरेका छन् । अख्तियारले कालिकाका अध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे, आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेतविरुद्ध पनि मुद्दा दायर गरेको हो ।