सदरलाइनडटकम
नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोक नजिकै बुधबार राती १२ बजे अज्ञात समुहले मट्टितेल छर्केर ५ वटा अटो रिक्सामा आगजनी गरेको छ । भने सोही समुहले अन्य तीन पसलमा पनि मट्टितेल छर्केर आगजनिको प्रयास गरेको छ ।
घटनास्थल सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशिल र २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ हुने स्थान भए पनि राती करिव १२ बजेतिर धम्बोझी चोकबाट खजुरा जाने बाटोमा नेपाल राष्ट्र बैंकको पर्खाल सकिने वित्तिकै पार्किङ्ग गरेर राखेको भे १ ह १२२०, भे १ ह २३३९, कोनपा १५५, जमुनि गाविस २२९ र रनियाँपुर गाविस ८६ नं.को अटोरिक्सामा आगजनी भएको हो ।
आगजनी गरिएका अटो मध्ये ४ वटा अब्दुल लतिफ हल्वाईको र १ वटा अब्दुल रसिद हल्वाईको रहेको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । उनले अत्यन्तै सुरक्षा संवेदनशिल रहेको स्थानमा निरन्तर सोही प्रकृतिको घटना हुनु अत्यन्तै दुखद भएको बताए ।
उनले सो समुहले सोही स्थानका अरु ३ वटा पसलमा समेत आगजनीको लागि मट्टितेल छर्केको पाईएको बताए । पार्किङ्ग गरेर राखेको अवस्थामा १२ दिन अगाडि पनि नेपालगञ्ज–१ का रहिश हल्वाईले किनेको एक साता नहुँदै मट्टितेल छर्केरै आगजनी भएको साथै ४ लिन अघिमात्र स्थानीय रामचन्द्रले सञ्चालन गरेको किराना पसलमा समेत मट्टितेल छर्केर आगजनि गरेको बताए । केहीदिन अघि मात्र घरमा पार्किङ्ग गरेर राखेको नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीको मोटरसाईकल समेत आगजनी गरिएको थियो ।
‘घटनास्थल धम्बोझी चोक र जिल्ला प्रहरी कार्यालय बाँकेको बिचमा पर्छ । साथै नजिकै नेपाल राष्ट्र बैंक र २४ सै घण्टा प्रहरीको सुरक्षा विट हुँदा पनि निरन्तरको आगजनी हुँदा प्रहरी र सुरक्षा निकायले सुईकोसम्म नपाउनु अत्यन्त दुखद कुरो हो’–वडा अध्यक्ष रिजालले भने ।
यसैबीच सो घटना स्थलमा नेपालगञ्ज उपमहानगर प्रमुख डा धवल शम्शेर राणा, उप प्रमुख उमा थापामगर, नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहीद मन्सुरी चुन्ना, प्रवक्ता अभयकुमार बस्नेत, सदस्यहरु श्यामसुन्दर अधिकारी, तपेन्द्र शाहलगायतका व्यक्तिहरुले घटनाको निन्दा गर्दै दोषिको खोजि गरी कडा कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र अर्यालले घटनाको अनुसंधान भई रहेको बताए । उनले बुधबार रातिको मात्र घटना जानकारीमा आएको तर, अरु घटना प्रहरीलाई जानकारी नभएको बताउदै भने–‘हामी गहन अनुसंधानमा छौ ।’