सदरलाइनडटकम,
सल्यान : सल्यानको शारदा नगरपालिका–८, मार्केको सिमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ । ५५ वर्षीया केवली सुनारको बिहीवार राति धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
श्रीमान्को मृत्यु पश्चात् मृतक सुनार लामो समयदेखि तीन छोराछोरहरुसँग भारतमा बस्दै आएको स्थानीयले बताएका छन् । दशैँ मनाउन चार दिनअघि मात्र उनी घर फर्किएकी थिइन् । घटना कसले र किन गराएको भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सल्यान प्रहरी प्रमुख प्रहरी उपरीक्षकको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ । हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए ।
