सदरलाइनडटकम,
खजुरा (बाँके) : संविधानमा निःशुल्क तथा गुणस्तरीय शिक्षा पाउने अधिकारको ब्यवस्था गरिएपनि शिक्षा पाउनबाट बालबालिका बञ्चित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जनजागरण समाज खुजराको समन्वयमा राष्ट्रीय मानवअधिकार आयोग प्रदेश नं. ५ शाखा कार्यालय नेपालगन्जले सोमवार बाँकेको खजुरा गाउँपालिका ८ रनियापुरमा आयोजना गरेको ‘मानव अधिकार शिक्षा सचेतना’ कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा रनियापुरकी साब्रा अन्सारीले महिला र पुरुषलाई समान अधिकार दिइएपनि समान कामको महिलाले बराबर ज्याला नपाउने गरेको गुनासो पोखिन् ।
बालबालिकाले आफ्नो मातृ भाषामा शिक्षा लिन पाउने ब्यवस्था भएपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले उक्त सुविधा नपाएको स्थानीय नसिरुल निशाले बताइन् । उनले मातृ भाषामा शिक्षा लिने पाउने अधिकार प्रदान गरि मातृभाषामा कक्षा सञ्चालनको ब्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिन् ।
खजुरा गाउँपालिका–८ का वडा अध्यक्ष फिराजे खाँको प्रमुख आतिथ्यता एवं राष्ट्रीय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रीय मानवअधिकार आयोग मानवअधिकार अधिकृत टंक खनालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा जनजागरण समाजका अध्यक्ष होमराज कुर्मी, सामाजिक सुरक्षा संजाल खजुराकी शोभना मिश्रलगायतले मानवअधिकार र नैसर्गिक अधिकारका बारेमा विचार राखेका थिए । कार्यक्रममा जनजागरण समाजका ब्यवस्थापक राम बहादुर पुनले शान्ति स्थापनाका लागि मानवअधिकार संरक्षण हुनु पर्ने धारणा राखे ।