सरसफाई उपभोक्ता समितिले बुझायो वडालाई ट्याक्टर

७ आश्विन २०७५, आईतवार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्ज  उप–महानगरपालिका  वडा  नम्बर  १२  का  स्थानीयले आफैं रकम संकलन गरेर खरिद गरेको ट्याक्टर वडा कार्यालयलाई बुझाएका छन् ।
सरसफाई उपभोक्ता समिति वडा नम्बर १२ मार्फत् संकलित रकमले खरिद गरिएको ट्याक्टर नेपालगञ्जमा आइतबार एक कार्यक्रम गरी वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो । वडाबासी, स्थानीय संघसंस्था, प्रतिष्ठान, उद्योगी, व्यापारी र शुभेच्छुकबाट संकलन भएको १३ लाख ३२ हजार ६ सय ९६ रकम मध्ये १३ लाख मूल्यको ट्याक्टर खरिद गरिएको सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बरराज सुवेदीले जानकारी दिए ।
भे. १ त.८६१० नम्बरको सोनालिका ट्याक्टर लिला इन्टरनेशनलबाट गोप्य कोटेशनका आधारमा खरिद गरिएको कोषाध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरपालिकाका कार्यवहाक मेयर उमा थापा मगरले वडा नम्बर १२ का स्थानीयले प्रशंसनीय कार्य गरेको बताईन ।
फोहर संकलनका लागि स्थानीय र सुभेच्छुकबाट ट्याक्टर खरिद गरिनु अरुका लागि पनि अनुकरणीय कार्य भएको कार्यबाहक मेयर थापाले उल्लेख गरिन ।
वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले अब सञ्चालक समिति गठन गरेर प्रत्येक घरघरमा दैनिक फोहर संकलनका लागि दैनिक ट्याक्टर पठाइने बताए । वडाको विकास र समृद्धिका लागि आफू दृढ संकल्पित रहेको भन्दै वडा अध्यक्ष सुवेदीले स्थानीय र शुभेच्छुकको साथले आफूलाई काम गर्ने हौसला मिलेको बताए । वडालाई सफा, स्वच्छ राख्दै नमुना बनाउन कुनै कसर बाँकी नराख्ने उनले दृढता व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा.सन्तोष शर्मा, गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष कृष्णजंग शाह लगायतले आ–आफ्नो भनाई राखेका थिए । सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बरराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नारायण शर्मा र सञ्चालन तेजबिक्रम शाहले गरेका थिए ।


Next Post

एनपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बैतडीमा हुने

७ आश्विन २०७५, आईतवार १७:५७
सदरलाइनडटकम, बैतडी : नेपालीहरुको महान पर्व विजयादशमी तथा तिहारको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङलाशैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता सञ्चालन हुने भएको छ । निङलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनामा सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम परस्कार १ लाख ११ हजार […]

सम्बन्धित