सदरलाइनडटकम,
काठमाण्डौ : उत्तर कोरियाका नेता किम जोङ उनले दोस्रो वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएका छन् । उनले ऐतिहासिक सिंगापुर वार्ताको ‘फलो’ गर्न दोस्रो वार्ताका लागि अमेरिकालाई पत्र पठाएका हुन् ।
पत्र पठाउनुको किमको पहिलो उद्देश्य राष्ट्रपति ट्रम्पसंग अर्को वार्ता रहेको बुझिएको छ । ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले प्योङयाङबाट प्राप्त अनुरोधसहितको पत्रले निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको देखाएको बताइन् ।
अर्को वार्ता कहिले र कहां हुने भन्नेबारे केही नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत जुनमा ट्रम्प र किमबीच भएको ऐतिहासिक सिंगापुर वार्तापछि निशस्त्रीकरणको विषय अवरुद्ध भए जस्तो देखिएको थियो । यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले नेता किमले अमेरिकालार्य पठाएको पत्र स्वागतयोग्य रहेको भन्दै अमेरिका र उत्तर कोरियाले वार्ताको माध्यमबाटै कोरियाली प्रायद्विपको पूर्ण निशस्त्रीकरण मुद्धा समाधान हुनेमा विश्वास व्यक्त गरे ।
यसअघि संयुक्त राष्ट्रसंघको आणविक वाचडगका प्रमुखले उत्तर कोरियाले आणविक गतिविधि कायमै राखेर सुरक्षा परिषद्को प्रस्ताव उल्लंघन गरेको आरोप लगाएका थिए ।
(एजेन्सीको सहयोगमा)