‘अल्टिमेटम’ दिएको ४८ घण्टा नबित्दै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

२३ श्रावण २०७५, बुधबार १९:२९
 

सदरलाइनडटकम
डुडुवा (बाँके) : बाँकेको डुडुवाका वडाअध्यक्षहरुले ‘अल्टिमेटम’ दिएपछि गाउँपालिकाले बुधवारदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । जीवन निर्वाहका लागि बृद्धबृद्धाहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता डुडुवा गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमा नपठाएपछि वडाअध्यक्षहरुले ४८ घण्टाको ‘अल्टिमेटम’ दिएका थिए ।
गत शनिवार वडा नं. ३, ४ र ६ का अध्यक्षत्रय सगीर खाँ, भण्डारीलाल यावद र मोहनराम मिश्रसहित १४ जना जनप्रतिनिधीले बैठक बसेर गाउँपालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि ४८ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । वडाअध्यक्षहरुको ‘अल्टिमेटम’ लगत्तै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयमा पठाई वितरण शुरु गरेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ को तेस्रो चौमासिकको असार मसान्तभित्रै वितरण गर्नुपर्ने भत्ता साउन २३ गतेदेखि वितरण गर्न शुरु गरिएको वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले बताए । असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निमार्ण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले बताएपनि ‘अल्टिमेटम’ दिएको ४८ घण्टा नबित्दै गाउँपालिकाले रकम पठाएको वडाअध्यक्ष मिश्रले जानकारी दिए । उनका अनुसार वडा नं. ६ मा बुधवार करीब डेढ सय जनालाई भत्ता वितरण गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा भत्ता वितरण शुरु गरिएको हो ।
गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिने डुडुवाका कार्यकारी प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । जेष्ठ नागरिक, अन्य एकल महिला, अपांगता भएका व्यक्ति, दलित गरि ३ हजार १ सय जना र ५ वर्ष मुनिका दुई हजार ९ सय दलित बालबालिकालाई उक्त भत्ता वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।
७० वर्ष पुगेका बृद्धलाई औषधी उपचारसहित रु. दुई हजार र अन्य अन्र्तगत ६० देखि ७० वर्षसम्मका एकल महिला, अपांगता भएका, दलित महिला र दलित बालबालिकाहरुलाई रु. एक हजार मासिक भत्ता वितरण गर्दै आइएको छ ।

Next Post

खाडीमुलुक जान लागेकी १६ नेपाली महिलाको उद्दार

२३ श्रावण २०७५, बुधबार १९:२९
सदरलाइन / यदुराज मिश्र,   नेपालगन्ज : अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ । उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेखलगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला आयोगको सक्रियतामा दिल्लीबाट ७३ नेपाली […]