राप्ती नदीमा पानीको सतह बढ्दै, सबै संयन्त्र तयारी अवस्थामा

२० श्रावण २०७५, आईतवार १६:४३
 

सदरलाइन /यदुराज मिश्र
नेपालगन्ज  : शनिवार दिउँसोबाट परेको अविरल वर्षाले बाँके र बर्दियाका अघिकांश भू–भाग जलमग्न भएका छन् । बाँके र बर्दियाका नदीमा पानीको बहावसमेत बढेको छ । राप्ती नदीमा पानीको सतह बढेर चेतावनीको संकेत नजिक पुगेको छ । बाढी मापन गेज रिडर भद्रबहादुर थापाका अनुसार राप्ती नदीमा अहिले पानीको स्तर ४ दशमलव ६९ मिटर पुगेको छ ।
बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुग्दा नदी आसपासका गाउँ डुवानमा पर्ने गरेका छन् । वर्षातका कारण नेपालगन्जका अधिकांश भु–भाग जलमग्न भएका छन् । नेपालगन्जको सेतुविक चोक र घरबारीटोल सवैभन्दा बढि प्रभावित भएको छ ।
सेतुविक चोक र घरवारीटोलका पसलमा पानी पसेको छ । सेतुविक चोक र घरबारीटोलमा पानी निकास नभएका कारण जलमग्न भएको विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक एवम् नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले नेपालगन्ज उप–महानगरले समयमा पानीको निकासको लागि बनाइएका ड्रोनेजहरु सफा नगरको कारण सानो पानी पर्दा पनि डुबानमा पर्ने गरेको बताए । उनले नेपालगन्ज उप–महानगरको घरबारीटोल, सेतुविक चोक, बेलासपुर, रानीतलाउ लगायतको क्षेत्रमा डुवान भएको आफुलाई जानकारी आएको बताए ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जिल्लामा सबै संयन्त्रलाई तयारी अवस्थामा राखेको बताए । उनले जिल्लामा प्रकोपको अवस्था नभए पनि सबै संयन्त्रलाई भने तयारी अवस्थामा राखिएको बताए ।
यस्तै बर्दियास्थित बबई नदीमा पानीको बहाव बढेपछि चेतावनी स्वरुप साइरन बजाइएको छ । भादा स्थित बबई नदीमा पानीको सतह ७ दशमलव ०४ मिटर पुगेपछि चेतावनीको घण्टी बजाइएको हो ।
बबई नदीको भादा नदीमा पानीको सतह ८ मिटर पुगे बर्दियाको सदरमुकाम गुलरिया, साविकको मोहम्मदपुर लगायतका गाउँ डुवान हुने गरेका छन् । डुवानको खतरा बढेपछि सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Next Post

नेपालगन्जको डुवान (फोटो फीचर)

२० श्रावण २०७५, आईतवार १६:४३
शनिवार दिउँसोबाट परेको अविरल वर्षाको कारण नेपालगन्ज जलमग्न भएको छ । सो वर्षातको कारण नेपालगन्जका पुरानो वस्तीका अघिकांश घरहरु डुवानमा परेका छन् । नेपालगन्जको सेतुविक चोक र घरबारीटोल सवैभन्दा बढि प्रभावित भएको छ । नेपालगन्जको सुर्खेतरोडमा नाली जाम भएर बाटो मै पानी बगेको थियो भने नालीमा फोहर थुप्रिएको कारण पानी […]