जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

३० असार २०७५, शनिबार १६:११
 

युवराज पाण्डे

बुटवल : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उहाँले भन्नुभयो, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।”

मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै “यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं भन्नुभयो । ”

गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ ।

मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन्, बरु यसले अनेक विकृति बढाएकोछ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताउनुभयो । स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले रुपन्देहीमा खेतीयोग्य जमीनको संरक्षण गरिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीति बाहिर जान नसक्ने बताउनुभयो । तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको छ भन्नुभयो ।

तिलोत्तमाका  ११२ जनाले पाए जग्गाधनी प्रमाणपूर्जा

      रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ र १७ का ११२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् ।  कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल,प्रदेशसभा सदस्य दधिराम न्यौपाने, नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गर्नुभयो ।

    नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ (क) को किता नं ८९ र ९८ तथा गंगोलिया ३ (ख) को कित्ता नं १३२ को गाउँब्लक जग्गाको जग्गाधनीलाई प्रमाण पूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन् ।

नापी कार्यालयका अनुसार शनिबार झण्डै पाँच बिगाहा क्षेत्रफल जग्गाको प्रमाण पूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिनुभयो ।

जनप्रतिनिधिको तत्परताका कारण पछिल्लो पटक तिलोत्तमाबाट गाउँब्लकको जग्गाधनी प्रमाण पूर्जा वितरण शुरु गरिएको उहाँले बताउनुभयो । तिलोत्तमाका अन्य वडामा समेत गाउँब्लक जग्गा रहेको छ ।

उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय बासिन्दा अत्यन्त खुशी भएका छन् । तिलोत्तमा–१७ भरौलियाकी ७० वर्षीय मालतीदेवी थरुनीले जीवनको उत्तराद्र्धमा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा आफू निकै खुशी भएको बताइन् । यस्तै तिलोत्तमा– १५ की ६० वर्षीय कोइली चौधरीले लामो समयको प्रतिक्षापछि बल्ल प्रमाण पूर्जा पाएको बताउँदै अब बल्ल जग्गाको वास्तविक धनी भएको बताइन् । (रासस)

Next Post

संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

३० असार २०७५, शनिबार १६:११
सदरलाइनडटकम  काठमाडौ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । आजको बैठकमा समसामयिक […]

सम्बन्धित