मेयर पदमा लड्न प्राध्यापक पदबाट राजीनामा  

३१ चैत्र २०७३, बिहीबार १०:५२
 

सदरलाइनडटकम 
३१ चैत, चितवन : स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिनुभएको छ ।   विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आउनुभएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिनुभएको हो ।   अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहनुभएका घिमिरे काँग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिनुभएको हो । त्रिचन्द्र कलेज काठमाडौँबाट आइएसीएजी, कृषि क्याम्पस रामपुरबाट बिएस्सी एजी र जापानको ओकायामा विश्वविद्यालयबाट एमएस्सी एजी एवम् सोही विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका घिमिरेले विसं २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा पढाउँदै आउनुभएको थियो । उहाँले अणुवंशिक विषयमा विद्यावारिधि गर्नुभएको हो ।   विद्यालयदेखि नै राजनीतिमा सक्रिय घिमिरे त्रिचन्द्र क्याम्पसको नेविसङ्घ एकाइका अध्यक्ष, कृषि क्याम्पस रामपुरमा नेविसङ्घका तर्फबाट दुई पटकसम्म स्ववियु सभापतिको उम्मेदवार भई पराजित हुनुभएको थियो ।   नेविसङ्घ चितवनका सभापति, नेका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसम्पादन समिति सदस्य, नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्यलगायतका पदमा रहेर काम गरिसक्नुभएका घिमिरेले पटकपटक गरी झन्डै एक वर्ष जेल जीवन बिताइसक्नुभएको छ ।   घिमिरेका अनुसार पञ्चायतकालीन समयमा माडी, जगतपुरलगायतका क्षेत्रमा सङ्गठन विस्तारका क्रममा नेपाली सेनाले सार्वजनिक रुपमा बाँधेर यातना दिई बन्दीगृहमा राखेको थियो । हाल ग्रेडसहित मासिक रु ६० हजार तलब खाँदै आउनुभएका घिमिरेले महानगरपालिकालाई दूरदर्शी ढङ्गले सञ्चालन गर्नसक्ने आफू उपयुक्त उम्मेदवार भएकाले पार्टीले टिकट दिने विश्वासका साथ जागिरबाट राजीनामा दिएर महानगर क्षेत्रमा घरदैलो अभियानमा लागेको बताउनुभयो ।   महानगरका लागि नेकाबाट ३४ जनाले आकांक्षा देखाएका छन् । नेका भरतपुर महानगरले इच्छुक दावेदारलाई निवेदन दिन आह्वान गरेपछि ३४ जना पुरुषले मेयर र एक पुरुष र १४ महिला गरी १५ जनाले उपमेयरका लागि निवेदन दिएका हुन् । रासस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

३१ चैत्र २०७३, बिहीबार १०:५२
 विरेन्द्र कर्ण/रासस  ३१ चैत, सिरहा : सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको […]

सम्बन्धित