नीतिगत सुधारका कारण पुनःनिर्माणमा तीव्रता

१६ असार २०७५, शनिबार १२:०५
 

काठमाडौँ, निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ ।

भूकम्पले घर भत्किई पुनःनिर्माण शुरु भएका निजी घर पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरिएका कूल सात लाख २० हजार ७४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण शुरु गरेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा हालसम्म प्राप्त तथ्यांकअनुसार पाँच लाख ७३६ घरको पुनःनिर्माण शुरु भएको छ । एक लाख ९४ हजार ७३१ घरको पुनःनिर्माण सम्पन्न भएकोे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।

सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७३ हजार ४१९ घरको पुनःनिर्माण शुरु भएको छ । नुवाकोटमा ६४ हजार १६१, धादिङमा ५९ हजार ३९८, गोरखामा ५२ हजार ४४८, दोलखामा ५२ हजार २३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८०२ र रामेछापमा ३८ हजार ३४२ घरको पुनःनिर्माण शुरु भएको उहाँले जानकारी दिए ।

अति प्रभावित १४ जिल्लाका अतिरिक्त कम प्रभावित १८ जिल्लामा पनि निजी आवास पुनःनिर्माणले गति लिएको छ । कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरै चार हजार ७४५ घरको पुनःनिर्माण शुरु भएको छ । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या पनि बढ्न थालेको छ । चार लाख ५५ हजार ५८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि दुई लाख छ हजार ८९२ लाभग्राहीयोग्य भएका छन् ।


पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त विश्लेषणबाट २० हजार ३१० पुनःनिर्माण लाभग्राही थपिएका छन् । त्यसैगरी ११ हजार २९७ प्रबलीकरण लाभग्राही थपिएका छन् । प्राधिकरणकोे कार्यकारी समिति बैठकले नौ जिल्लाका १७ स्थानीय तहका छ हजार २८२ पुनःनिर्माण लाभग्राही र दुई हजार ८५७ परिवारलाई प्रबलीकरण लाभग्राही सूचीमा थप गरेको छ ।

भूकम्प प्रभावित लाभग्राहीले पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख पाउँछन् । भूकम्प प्रभावित जिल्लाका सात लाख ८८ हजार १५ परिवार लाभग्राही सूचीमा समावेश छन् । तीमध्ये सात लाख २० हजार ७४३ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गर्नेमध्ये सात लाख १२ हजार १३ लाभग्राहीले पहिलो किस्ता लिएर पुनःनिर्माण शुरु गरेका छन् । दोस्रो किस्ताका लागि चार लाख ५७ हजार ५३६ लाभग्राही प्रमाणीकरण भएका छन् । तेस्रो किस्ताका लागि दुई लाख १२ हजार ७१९ लाभग्राही प्रमाणीकरण भएको प्राधिकरणले जनाएको छ । प्रबलीकरण सूचीमा ३६ हजार २८८ परिवार परेका छन् ।

(रासस)

Next Post

कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने

१६ असार २०७५, शनिबार १२:०५
सुर्खेत, कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । आज बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी […]