नेपाल फोटो पत्रकार महासंघद्वारा फोटो पत्रकारको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण

१९ जेष्ठ २०७५, शनिबार १६:२२
 

सदरलाइनडटकम  
१९ जेठ, काठमाडौं : नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो समय फोटो पत्रकारहरुमाथि आक्रमण, धम्की र सेल्फ सेन्सरसिप बढेको भन्दै सरोकारवालाहरुसँग फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न ध्यानाकार्षण गराएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा महासंघको चितवन घोषणापत्र–२०७५ सार्वजनिक गर्दै यस्तो ध्यानाकार्षण गराईएको हो । कार्यक्रममा बोल्दै महासंघका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेपनि त्यसको पूर्ण रुपमा प्रयोग गर्न प्रेस र आम नागरिकले नपाएको गुनासो पोखे ।
उनले भने,‘अहिले पनि समाचारका लागि फोटो खिच्न गएका फोटो पत्रकारहरुलाई धम्की दिइने, आक्रमण हुने क्रम जारी छ, यो सँगै सेल्फ सेन्सरसीप बढेको छ । राज्य र गैर–राज्य पक्षबाट फोटो पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रहारका प्रयास भैरहेका छन् । यसप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ, सरकारले विशेष ध्यान दिनुपर्छ ।’
त्यस्तै महासंघका महासचिव हरि रेग्मीले देशभरका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुलाई फोटो पत्रकार महासंघमा गोलबन्द गर्न आह्वान गरेका छन् । त्यस्तै उनले फोटो पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धि गर्नको लागि विभिन्न संघ तथा संस्थाहरुसँग सहकार्य गर्दै फोटो पत्रकारहरुको हकहितका लागि आवाज बुलन्द बनाउने बताए ।
उनले फोटो पत्रकारहरुको जीवनरक्षार्थ बिमा तथा उपकरणको बीमाको लागि सम्बन्धित निकायसँग छलफल तथा पहल गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘संघीय संरचना अनुसार महासंघलाई हामी रुपान्तरण गर्दै लैजान्छौं।’
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले फोटो पत्रकारहरुले नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत क्लबले महासंघसँग सहकार्य गर्ने विश्वास दिलाए ।
धमलाले फोटो पत्रकारहरुको सम्मानको लागि क्लबले पहिलोपटक बाबु छिरिङ फोटो पत्रकारिता पुरुस्कार स्थापना गरेको स्मरण गर्दै भने,‘क्लबले पहिलो पटक फोटो पत्रकारलाई सम्मान गर्ने सूरुवात गरेको हो, अहिले त धेरैले फोटो पत्रकारलाई सम्मान गर्न पुरस्कारको स्थापना गरेका छन्, मलाई खुशी लागेको छ, आगामी दिनमा पनि सबैले फोटो पत्रकारहरुको भूमिकाको उच्च मुल्यांकन गर्नुपर्छ ।’
विदेशमा फोटो पत्रकारहरुलाई उच्च सम्मान गरिने भएपनि नेपालमा राष्ट्रपति कार्यालय लगायत विभिन्न महत्वपूर्ण स्थानहरुमा रोकिने र प्रवेशमा बञ्चित गरिने गरिएकोप्रति धमलाले आपत्ति जनाए । उनले भने,‘फोटो पत्रकारहरुले निर्वाध रुपमा फोटो खिच्न पाउनुपर्छ, हामी पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं, राज्यले फोटो पत्रकारको मौलिक अधिकारलाई सम्मान गर्नुपर्छ।’
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले नेपालका हरेक परिवर्तनका आन्दोलनमा फोटो पत्रकारहरुले खेलेको भूमिका अविश्मरणीय रहेको बताए । थापाले फोटो पत्रकारकै कारण मुलुकको ईतिहाँसको संरक्षण भएको स्पष्ट पारे ।
उपाध्यक्ष थापाले आगामी दिनमा पनि फोटो पत्रकारहरुले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । फोटो पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।
त्यस्तै कार्यक्रममा महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठलेलोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा महासंघको तर्फबाट सक्दो योगदान पुर्याउने विश्वास दिलाए ।

Next Post

प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

१९ जेष्ठ २०७५, शनिबार १६:२२
सदरलाइनडटकम १९ जेठ, नेपालगन्ज :  पहिलो पटक प्रदेश नम्बर ५ को दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवारदेखि नेपालगन्जमा सुरु भएको छ । प्रदेश सरकारकी कृषी तथा सहकारी मन्त्री आरती पौडेलले प्रतियोगिताको उद्घाटन गरिन । प्रतियोगिताको उद्घाटन गर्दै कृषि मन्त्री पौडेलले पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरिय प्रतियोगिताले सबै जिल्लाका नागरिकहरुलाई भावनात्मकरुपमा […]