दरबन्दीका चिकित्सक पठाउन अदालतको आदेश

१९ चैत्र २०७४, सोमबार १८:२२
 

सदरलाइनडटकम
१९ चैत, नेपालगन्ज : बाँकेको दुर्गम नरैनापुर गाउँपलिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा विशेषज्ञ चिकित्सक पठाउन अदालतले जारी गरेको आदेशलाई सराहनीय भन्दै गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विशेषज्ञ चिकित्सक नभएर स्वास्थ्य जोखिम मोलिरहेका बघौडाबासीको हितमा भएको यो आदेश स्वागतयोग्य भएको बताए ।
‘सिंगो नरैनापुरबासीका हितमा भएको यो आदेशलाई म उच्च सम्मान गर्छु,’ उनले भने, ‘सरकारले व्यवस्था गरेको स्वास्थ्य सेवा पाउने बाटो अदालतले खोलिदिएको छ, आफ्नो ठाउँमा स्वास्थ्य सेवा नपाउँदा सीमावर्ति भारतीय अस्पताल र निजी क्लिनिकमा धाइरहेका बघौडाबासीलाई यो आदेश कार्यान्वयन भएमा अब सजिलो हुनेछ ।’ यसका लागि आफू पनि निर्वाचित भएर आएदेखि नै निरन्तर लागिरहेको उनले बताए । अदालतको आदेशले अब दबाब बढ्ने उनले बताए । २०५० सालमा स्थापना भएको लक्ष्मणपुर स्वास्थ्य चौकीमा स्थापनाकालदेखि नै दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नभएको अध्यक्ष शाहले बताए ।
लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका चिकित्सक पठाउन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बुधबार आदेश दिएको हो । दरबन्दी अनुसारका चिकित्सक पठाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अदालतले आदेश दिएको हो । सरकारले दरबन्दी नै सिर्जना गरेर व्यवस्था गरेका चिकित्सक दुर्गम ठाउँ भनेर जान नमान्दा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित भएको भन्दै अदालतले आवश्यक चिकित्सक, उपकरण, स्वास्थ्यकर्मी र औषधिसमेतको प्रबन्ध गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशनात्मक आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधिशद्वय सारंगा सुवेदी र खुसीप्रसाद थारुको इजलासले , ‘रोग नियन्त्रण र रोकथामका लागि आवश्यक व्यवस्था मिलाउनु, आकस्मिक स्वास्थ्य सेवा, महिलाको प्रजनन् स्वास्थ्य उपचारको व्यवस्था गर्नु गराउनु ।’ भन्ने आदेश दिएको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयाका स्थानीय अरुणकुमार तिवारीले गत मंसिरमा दायर गरेको रिट उपर अदालतले यस्तो आदेश दिएको हो । नेपालगञ्जबाट ४० किलोमिटर भन्दा बढीको दुरीमा रहेका नरैनापुरका कट्कुइँया, कालाफाँटा, लक्ष्मणपुरका सर्वासाधारण उपचारका लागि भारतीय अस्पतालमा जाने गरेका छन् । बाटो र यातायात असुविधाले नेपालगञ्जसंग उनीहरुको सम्पर्क जोडिन सकेको छैन । चिकित्सक नहुँदा सामान्य जाँचका लागि पनि उनीहरु भारतको भिँगा र बहराइच जान बाध्य छन् ।

Next Post

बाँके राधापुरका किसानलाई तरकारी खेतीको तालिम

१९ चैत्र २०७४, सोमबार १८:२२
सदरलाइनडटकम   १९ चैत, नेपालगन्ज : बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरका किसानहरु ब्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । राधापुरका किसानहरुको आवश्यकता अनुसार खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईलाले वडा कार्यालयसँगको सहकार्यमा तरकारी खेती सम्बन्धी एक हप्ते तालिम आईतबारदेखि सुरु गरेको छ । तालिमको उद्घाटन गर्दै खजूरा गाउँपालिकाका प्रशासकीय अधिकृत […]

सम्बन्धित