मधेशी मुस्लिम महिलाको शिक्षामा पहुँच पुर्याउन माग

२३ फाल्गुन २०७४, बुधबार ०८:३४
 

सदरलाइनडटकम
२३ फागुन, नेपालगन्ज  : मधेशी र मुस्लिम समुदायका किशोरीहरु अझै पनि शिक्षाको पहुँचबाट वञ्चित रहेको भन्दै उनीहरुको उज्वल जीवन र विकासमा महिला सहभागिता बढाउन माग गरिएको छ ।
नेपालगन्जमा रेष्ट नेपालले आयोजना गरेको एक कार्यक्रमका सहभागी सरोकारवाला नियकायका प्रतिनिधिहरुले मधेशी तथा मुस्लिम महिलालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिदै सो कुरा औल्याएका हुन ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धबल शमसेर राणाले किशोरीहरुलाई शिक्षाबाट बञ्चित गरिए कै कारण महिला हिंसा, बालबिवाह तथा बेचविखनका घटनाहरु बढी रहेको दाबी गदै भने– ‘चेतनाको अभावमा महिलाहरु हिंसा सहन बाध्य मात्रै होइनन, बेरोजगार हुँदा बेचिन पनि बाध्य छन् । किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सके मात्रै महिला हिंसा र समुदायमा भएका विकृतिहरु अन्त्य गर्न सकिन्छ ।’
मानव बेचविखन, बैदेशिक रोजगार लगायतका समस्या रोक्न सबैलाई राम्रो शिक्षा दिन सके यस्ता समस्या आफै समाधान भएर जाने उनको भनाई रहेको थियो ।
महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाहले बाँकेमा मुस्लिम तथा मधेशी समुदायका किशोरीहरु आर्थिक तथा अन्य कारणले शिक्षा पाउन नसकेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने बताइन् । किशोरीहरुलाई सबैभन्दा पहिले शिक्षामा पहुँच पु¥याउन सकेमा उनीहरुको अन्य विकास आफै हुने उनको दाबी थियो ।
कार्यक्रममा रेष्ट नेपालका कार्यक्रम प्रबन्धक सविन श्रेष्ठले रेष्ट नेपालले बाँकेका विभिन्न विद्यालयहरुमा सञ्चालन गरिरहेको कार्यक्रमको बारेमा जानकारी दिए । आफुहरुले किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन धेरै कोशिस गरेपनि सरकारी क्षेत्रबाट प्रभावकारी समन्वय नहुँदा केही समस्या भएको बताए ।
अभिभावकलाई शिक्षाको महत्व र किशोरीको अधिकारका विषयमा बुझाउन सकेमात्रै मुस्लिम र मधेशी समुदायका छात्राहरुलाई गुणस्तरिय शिक्षाको पहुँचमा ल्याउन सकिने बताए । रेष्ट नेपालकी केन्द्रीय उपाध्यक्ष नम्रता शर्माले विगतमा भन्दा पछिल्लो समयमा छोरीलाई शिक्षा दिने प्रचलन बढेपनि भेदभाव भने अँझै कायम रहेको बताइन् ।
जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले सामुदायिक विद्यालयमा छात्राहरुको नै संख्या उल्लेख्य रहेको बताए । तर, पहाडी समुदायमा छोरीहरुलाई शिक्षा दिने प्रचलन स्थापीत भइसके पनि मधेशी र मुस्लिम समुदायमा भने अँझै समस्या रहेको उनको भनाई थियो । कार्यक्रममा सहभागी विभिन्न स्थानीय तहका जनप्रतिनिधी, विद्यार्थी, शिक्षक लगायतले सामाजिक विकृतीहरु हटाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

Next Post

मालपोत कार्यालयमा भ्रष्टाचारबिरुद्ध बासको सत्याग्रह

२३ फाल्गुन २०७४, बुधबार ०८:३४
सदरलाइनडटकम  २३ फागुन, नेपालगन्ज : भ्रष्टाचारबिरुद्ध क्रियाशिल ‘बास’ ले सरकारी कार्यालयमा हुने भ्रष्टाचार तथा ढिलासुस्ती बिरुद्ध दवाव दिने उद्देश्यले सत्याग्रह अभियान सञ्चालन गरेको छ । बिभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचार बिरुद्ध सत्याग्रह सांकेतिक रुपमा दवाव दिन आयोजना गरिएको बासले जनाएको छ । बासका बर्दिया, सुर्खेत, सल्यान, उदयपुर, […]