कोहलपुर नगरपालिकाका पदाधिकारीले लिए सपथ

२४ असार २०७४, शनिबार २१:५३
 

सदरलाइनडटकम   
२४ असार, नेपालगन्ज : कोहलपुर नगरपालिकाका नबनिर्वाचत मेयर उपमेयर तथा पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । कोहलपुर नगरपालिकाका निर्वाचन अधिकृत टेक बहादुर थापाले मेयर लुटबहादुर रावत, उपमेयर सञ्जु चौधरी तथा १५ वडाका वडा अध्यक्षलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नव निर्वाचित मेयर रावतले निर्वाचनको बेलामा जनतासंग गरेका बाचा प्रतिबद्धतालाई सबैको सहयोगमा कार्यान्वयन गर्ने बताए । उनले नगरको विकासको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अपिल गरे । कोहलपुरलाई स्मार्म सिटी बनाउने, हरित नगर बनाउन र चौतर्फि विकासको लागि गुरुयोजना बनाउदै अघि बढ्ने बताए ।
उनले नगरलाई सफा राख्न निर्वाचनको बेलामा टाँसिएका चुनावी पर्चा पोष्टर, व्यानर र झण्डाहरु निकाल्दै शहर सफा गर्ने सडक बत्ति राख्ने, सामाजिक सुरक्षा भत्ता बैंकहरुसंगको सहकार्यमा घरदैलोमा नै पु¥याउने योजना बनाएर काममा लागेको बताए ।
उनले कोहलपुरमा धेरै बस्तीहरु पूर्जा विहीन रहेको बताउदै त्यस्ता बस्तीहरुको बारेमा अध्ययन गरी उनीहरुलाई नगरपालिकाले पूर्जा दिने गरी अध्ययन सुरु गरेको बताए । उनले भने–‘मलाई विश्वास गरेर तेस्रोपटक जनप्रतिनिधि बनाएर पठाउनु भएको छ म कोहलपुरका जनताको विश्वासलाई उच्च सम्मान गर्दै विकासको कामहरुलाई अघि बढाउने छु ।’
नम्र र भद्र स्वभावका रावतलाई कोहलपुरका जनताले यो समेत गरेर तेस्रो पटक कोहलपुर नगरपालिकाको विकासको लागि निर्वाचित गरेर पठाएका हुन् । उनले गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा ८३ मतको अन्तरले जित निकल्दै कोहलपुर नगरपालिको पहिलो मेयर हुन सफल भए । उनी २०४९ सालमा पनि नेपाली काँग्रेसका ईश्वरी प्रसाद पौडेललाई ६५ मतले पछि पार्दै कोहलपुर गविसको अध्यक्ष भएका थिए । यसैगरी २०५४ सालमा पनि नेपाली काँग्रेसकै राजेन्द्र प्रसाद श्रेष्ठलाई करिव २ सय मतले पछि पार्दै दोस्रोपटक कोहलपुर गाविसको अध्यक्ष पूर्ण बहुमतका साथ जितेका थिए ।
उनले पुराना कुरा सम्झदै भने–‘२०४९ सालमा पहिलो पटक बिजय हुँदा गाविसमा पैसा पनि नहुने यसो कही कतैबाट २०÷ २५ हजार आई हालेमा हुमपाईप खरिद गर्न मात्रै ठिक्क हुने गर्दथ्यो । त्यतिबेला म अल्पमतमा भएकोले पनि चाहेजति काम गर्न सकिन । २०५४ मा पूर्ण बहुमतमा आउदा धेरै र देखिने विकासका कामहरु भए जसले गर्दा २० वर्षपछि पनि फेरी कोहलपुरका जनताले मलाई विकासको बागडोर सुम्पनु भएको छ ।’
उनले २०५१ मा एमालेको सरकार बनेपछि मात्र गाविसमा विकासको लागि पैसा आउन थालेको सम्झदै २०५२ सालदेखि बल्ल देखिने गरी विकासको बजेट आउन थालेको र काम गरिएकोले आफ्नो पहिलो कार्यकालको अन्त्यमा थोरै स्रोत र साधनका बाबजुद विभिन्न ठाँउमा आवत जावत गर्नको लागि ५ वटा त पक्की पुल मात्रै बनाएको बताए ।
उनी २०५४ सालमा पुनः गाविस अध्यक्ष चुनिएर आउदा बोर्ड पनि पूर्ण बहुमत भएकोले काम गर्न सजिलो भएको बताउछन् । ‘कोहलपुरमा खानेपानीको अत्यन्तै समस्या रहेकोले आफ्नो निरन्तर प्रयासका कारण कोहलपुर खानेपानी आयोजना ल्याउन सफल भई २०५७ सालमा काम सुरु गरेर कार्यकाल सकिदा सकिदै योजना सम्पन्न भएको थियो’–उनले पुराना कामहरु सम्झदै भने ।
दुईपटक तत्कालिन कोहलपुर गाविस अध्यक्ष भएका उनी २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा पनि कोहलपुर नगरपालिकाको मेयरमा जित्दै हैट्रिक गरेका हुन ।
सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. १ सांसद देवराज भार, जिल्ला न्यायाधिश तथा बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, एमाले बाँकेका अध्यक्ष अशोक कोईरालालगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समिति बाँकेद्वारा बाँके खासकुस्माका ५५ जना जेष्ठ नागरिक सम्मानित(फोटो सहित)

२४ असार २०७४, शनिबार २१:५३
सदरलाइनडटकम २४ असार, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेले जिल्लाका सुदूर पूर्वका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बाँकेको तत्कालिन खासकुस्मा गाविस तथा हाल राप्तीसोनारी गाउपालिका–१ का ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । बाँके निर्वाचन क्षेत्र नं. १ का सांसद देवराज भारले राप्ती सोनारी–१ को वडा […]