७ वर्षदेखि शहिद हरि अधिकारीको शालिक अलपत्र अवस्थामा

१६ बैशाख २०७४, शनिबार १९:३४
 

सदरलाइन / रुद्र सुवेदी   
१६ बैशाख, नेपालगन्ज : लोकतन्त्र आएको ११ वर्ष भयो तर, लोकतन्त्र ल्याउन ज्यानको आहुती दिने शहिदको शालिक राख्नको लागि ठाँउसम्म नपाउदा शालिक ७ वर्षदेखि अलपत्र अवस्थामा छ ।
दोस्रो जनआन्दोलन ०६२÷०६३ मा नेपालगन्जमा भएको आन्दोलन कै क्रममा शहिद भएका हरि अधिकारीको शालिक अनावरण गर्ने स्थानको अभाव देखाउदै विगत ७ वर्षदेखि अलपत्र परेको हो ।
२०६२/२०६३ को आन्दोलनमा पेशागत सञ्जालले नेपालगन्जमा आयोजना गरेको ¥यालीमा सहभागी हुँदा नेपालगन्जको महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक अधिकारीको निधन भएको थियो ।
अधिकारीको अर्धकदको शालिक अनावरण गर्नको लागि स्थान अभावको कारण विगत ७ वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख कार्यालय भित्रको गोदामघरमा थन्किएको छ । सहिद अधिकारीको शालिक राख्ने ठाउँ नदिइएका कारण गोदाम मै थन्काउनु परेको हो ।
आन्दोलन सफलभई गणतन्त्र आएको दशक पुगिसक्दा समेत कतैबाट ठाउँको ब्यवस्थापन नहुँदा शालिक गोदाममा थन्काउनु परेको सहिद पत्नी अञ्जु शर्मा अधिकारीले दुख प्रकट गरिन । सहिद पत्नी अधिकारीले नै आफ्नै खर्चमा काठमाडौंबाट ८० हजार खर्च गरेर अर्धकदको पत्थरको शालिक बनाउन लगाएकी थिइन । ‘बनाएर नेपालगन्ज ल्याएको ७ वर्ष भएछ , राख्ने ठाउँ नै पाइएन  गोदाम मै थन्काउनु परेको छ’– अधिकारीले दुखः प्रकट गर्दै भनिन ।
सहिद हरि अधिकारीको शालिक महेन्द्र बहुमुखी क्याम्पस नजिकै रहेको ट्राफिक चोकमा राख्न स्थानीय शान्ति समिति, स्थानीय राजनीतिक दलले निर्णय नै गरेको थियो । ‘सुरुका दिनमा ट्राफिक चोकमा शहिद हरि अधिकारीको फोटोलाई काठको खम्बामा ठोकेर ‘शहिद हरिअधिकारी’ चोक लेखिएको थियो त्यो देखेर केही प्राध्यापक संघ र केही आफ्नै करिव ४५ हजार खर्च गरी पिल्लर बनाए त्योृ पनि बाटो बनाउदा थाहै नदिई भत्काईयो’–भावुक हुँदै उनले भनिन ।
अहिले सो ठाउँमा पिलर छैन उनले त्यो बेलाको अवस्था सम्झदै भनिन–‘शालिक राख्ने भनेर ट्राफिक चोकमा छोरा आशिष र त्यसबेलाका प्राध्यापक संघका उपाध्यक्ष अर्जुन गौतमले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो । धेरै समयसम्म पिलर राखिए पनि शालिक राख्न सकिएको थिएन । दुई बर्षअघि त त्यहीँ भएको पिलर पनि फालियो, सरकारले शालिक राख्ने ठाँउ नदिएको कारण बनाएको शालिक न फाल्न नै सकेकी छु न त व्यवस्थित गरेर राख्ननै ।’
जिल्ला बाहिर भएका बेला शालिक राख्ने पिलर हटाएको स्मरण गर्दै उनले भनिन,–‘फर्किएर त्यो ठाउँबाट पिलर हटाइएको देखेपछि निकै रोएँ । सहिदको शालिक राख्ने भनिएको ठाउँ कसरी तोडफोड गर्न सकेका होलान ? भनेर मनमनै सोचिरहेँ ।’ पिलर राखिएको ठाउँलाई हरिचोक भनेर सम्बोधन गर्न थालिएको थियो ।
अहिले त झन् पिलर नै नभएपछि त्यो भन्न पनि छाडिएको छ । पिलर हटाएपछि सहिद पत्नी अधिकारीले महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई त्यस बिषयमा जानकारी गराईन र शालिक राख्न पहल गरिदिन आग्रह गरिन । तर अहिलेसम्म कतै सुनुवाई भएको छैन । ‘मेरो अरू पहुँच छैन , क्याम्पस प्रमुख र प्राध्यापकहरूलाई नै भन्दै आएको छु  अहिलेसम्म केही भएको छैन,’अधिकारीले भनिन ।
सेतुबिकको शालिक अनाबरण भइसक्यो तर सहिद हरि अधिकारीको शालिक राख्न दिने कोही भएनन्,’ खिन्न हुँदै अधिकारीले भनिन । ‘राज्यले अरू केही नहेरे पनि शालिक राख्ने ठाउँ त दिन सक्थ्यो होला नी ? किन यतिका अन्याय गरिएको होला ?’ सहिद पत्नी अधिकारीले भनिन ।
शहिद हरि अधिकारीको शालिक राख्नको लागि महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश रेग्मीले आफुहरुले पटक–पटक पहल गर्दा पनि सफल हुन नसकेका बताए । उनले विभिन्न समयमा भएका स्थानीय शान्ति समितिको बैठक र सर्वदलिय बैठकमा पनि कुरा उठेपनि त्यतिकै सेलाएर जाने गरेको बताए ।
महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख मोहन शाहले राज्यले नै नचाहेको कारण शहिद हरि अधिकारीको शालिक अलपत्र परेको ठोकुवा नै गरे । उनले भने–‘चारलेन सडक निर्माण पछि नै गणेशमानको शालिक राख्ने निर्णय भयो कार्यान्वयन पनि भयो । त्यहि चारलेन सडक बनाउनु अघि नै निर्णय भएको हरिचोक भने अनुमति र ठाँउ छैन भनेर राख्नै नदिनु शहिद प्रतिको अपमान हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा विद्यालय भर्ना अभियानलाई तीब्र पारिदै

१६ बैशाख २०७४, शनिबार १९:३४
  सदरलाइनडटकम १७ बैशाख, नेपालगन्ज : नयाँ शैक्षिक सत्रको लागि बाँकेमा पहिलो चरणको विद्यालय भर्ना अभियान सकिएको छ । जिल्ला शिक्षा कार्यालय बाँकेले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले विभिन्न संघसंस्थाहरुको सहकार्यमा जिल्लामा विद्यालय भर्ना अभियान सञ्चालन गरेको जनाएको छ । बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साँउदले विद्यालय जाने […]