दर्ता भएको नयाँ संशोधन विद्येयक एमाले र मोर्चाको सहमतिमा पारित हुन्छ : कानूनमन्त्री नायक

२९ चैत्र २०७३, मंगलवार १८:३५
 

सदरलाइनडटकम  
२९ चैत काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले ल्याएको नयाँ संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो दाबी गरेका हुन् । उनले भने,‘नयाँ संशोधन प्रस्ताव एमाले र मधेशी मोर्चा दुवैको सहमतिमा ल्याईएको हो, त्यसैले यो प्रस्ताव पारित हुन्छ, यसमा कुनै दुई मत छैन् ।’ उनले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष तहमा समेत सहमति गरेर प्रस्ताव ल्याईएकोले प्रस्ताव पारित हुने स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री नायकले पूरानो संशोधन प्रस्ताव फिर्ता भएको र अब नयाँ संशोधन प्रस्ताव आजै ६ बजे संसद सचिवालयमा दर्ता हुने जानकारी दिए । उनले भने,‘प्रस्ताव पूरा तयारी अवस्थामा छ, अब आजै ६ बजे दर्ता हुन्छ ।’
त्यस्तै उनले प्रस्तावबारे मधेशी मोर्चासँग पनि ठोस सहमति भएको दाबी गर्दै मोर्चालेपनि प्रस्ताव पारित गराउनको लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘मोर्चाकै माँग अनुसार यो प्रस्ताव आएको हो ।’
उनले अहिले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेकोले सबै दललाई निर्वाचनमा सहभागी गराउनको लागिपनि सरकारले अधिकतम प्रयास गरिरहेको जनाए । मन्त्री नायकले थपे,‘अब मधेशी मोर्चालेपनि गुनासो गर्ने ठाउँ छैन, धेरै विषयहरु मिलेको छ ।’
नयाँ संशोधन विद्येयकबारे कसैको पनि विमति नरहेको दाबी गर्दै उनले भने,‘नयाँ विद्येयकबारे मोर्चाका नेताहरुसँग एक÷एक विषयमा छलफल भएको छ, एमालेका नेतासँगपनि सहमति भएको छ ।’ यद्धपी उनले डा«फ्ट विज्ञहरुले तयार पारेकोले विद्येयकमा उल्लेख भएका विषयका शब्दहरुमा भने पछि छलफलका क्रममा सच्याउन सकिने विश्वास दिलाए ।
उनले नयाँ आएको विद्येयकले कसैलाई पनि खेल्ने ठाउँ नदिएको दाबी गरे । नायकले दर्ता भएको संशोधन प्रस्तावलाई जतिसक्दो चाँडो पारित गराउने सरकारको चाहना रहेको जिकिर गरे ।
उनले भने,‘हामी जतिसक्दो यो प्रस्ताव पारित गराउन चाहन्छौं, तर संसदको प्रक्रिया छ, अब बैशाख ७ गते संसदमा प्रवेश हुन्छ, त्यसपछि प्रस्तावलाई परिपक्व हुनको लागि ५ दिनको समय दिईन्छ ।’

नयाँ संशोधन विद्येयक पूरानोभन्दा पनि खतरानक छ : महासेठ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले अहिले सरकारले ल्याएको नयाँ संशोधन विद्येयक हिजोको भन्दापनि बढि खतरानक रहेको आरोप लगाएका छन् ।
नेता महासेठले भने,‘अघिल्लो संशोधन प्रस्तावभन्दापनि यो अहिले ल्याईएको नयाँ संशोधन प्रस्ताव खतरानक छ, राष्ट्रियताको हिसावले पनि यो खतरानक देखिएको छ, किनकी यसले संविधानको धारा २७४ लाई चलाएर आएको छ ।’
उनले नयाँ संशोधनमा के÷के खतरा छ त भन्ने पत्रकारको जिज्ञासमा भने,‘निर्वाचन मण्डलबाट प्रमुख तथा उपप्रमुखलाई हटाउने भनिएको छ, यो कस्तो हो भने डराउने कुरा हो ? उहाँहरु किन डराउनुभएको हो, मैले त बुझ्न सकेको छैन, सबै ठाउँमा एमालेले जित्दैन होला, जसको जहाँ लोकप्रियता छ, त्यसले त्यही विजयी हाँसिल गर्ने हो नि।’
उनले यो प्रस्ताव आफ्नो पार्टीसँग सहमति नगरीकन ल्याईएको समेत दाबी गरे । उनले भने,‘भन्नको लागि त यो प्रस्ताव हाम्रो पार्टीसँगको सहमतिमा ल्याईएको हो भनेर सरकारले प्रचार गर्यो, तर सहमति भएको छैन, यो सरासर झुठो हो ।’
उनले संविधानको धारा २७४ लाई आफ्नो पार्टीले कुनैपनि हालतमा चलाउन नदिने समेत उद्धघोष गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्दापनि मधेशी मोर्चाले दिनहुँ कुरा फेरेको आरोप लगाए । यद्धपी उनले मोर्चालाई चुनावमा सहभागी गराउनको लागि मतदाता नामावली सच्याउनको लागि केही दिन कुर्न भने सकिने स्पष्ट पारे ।
त्यस्तै उनले प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का ११ वटा जिल्लामा गाउँपालिका तथा नगरपालिकामा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने कुरा पनि आपत्तिजनक रहेको टिप्पणी गरे । उनले भने,‘यो दुई वटा प्रदेशका ११ वटा जिल्लाको मात्रै किन ? बढाउने भए ७५ वटै जिल्लामा हुनुपर्छ नि ।’ उनले जनसंख्यालाई मात्रै आत्मसात् गर्न नहुने बताउँदै भूगोललाई पनि छोड्न नहुने धारणा राखे ।
महासेठले आफ्नो पार्टी मुुलुकको निकासको विरोधी नभएको समेत जिकिर गरे । उनले थपे,‘मुलुकको निकासको लागि सकारात्मक कुरा आयो भने एमालेले रचनात्मक भूमिका खेल्छ, राष्ट्रियतासँग जोडिएको संविधानको धारा २७४ सँग खेलबाड गर्न पाईँदैन् ।’ उनले हाम्रो देश कसले चलाएको छ भनेर समेत प्रश्न गरे ।
संविधान संशोधन प्रस्ताव ल्याउँदा तपाईको पार्टीका अध्यक्षसँग सरकारले सहमति गरिसक्यो नि भन्ने अर्को प्रश्नमा उनले भने,‘अब यो कुरा पार्टीलाई थाहा छैन, पार्टीलाई थाहा नभएपछि आधिकारिकता त भएन नि ।’ त्यस्तै उनले उपप्रधानमन्त्री विमलेन्द्र निधिप्रति लक्षित गर्दै मन्त्रिपरिषद बैठकमा नजाने मन्त्रीले राजिनामा दिनुपर्ने माँग गरे ।


यदि विद्येयक हामीले भनेजस्तै गरि आएको हो र पारित गरेपछि निर्वाचनमा जान्छौं : मोर्चा

मधेशी मोर्चाका शीर्ष नेता लक्ष्मणलाल कर्णले सदनमा दर्ता भएको नयाँ संशोधन विद्येयक हेरेपछि मात्रै मोर्चाले आधिकारिक प्रतिक्रिया दिने स्पष्ट पारेका छन् ।
उनले भने,‘अहिलेसम्म सरकारले हामीसँग विद्येयक यस्तो आउँदैछ है भनेर कुनै कुरा भनेको छैन, हामीले नयाँ संशोधन प्रस्ताव देखेको छैन, हामीसँग सल्लाह गरेको अनुसार नै प्रस्ताव ल्याएको भनेर सरकारले दाबी गरेको छ, यदि हामीले दिएको सुझाव अनुसार प्रस्ताव आएको हो भने हामी यसलाई पारित गराउँछौं, अनिमात्रै हामी निर्वाचनमा भाग लिन्छौं ।’
कर्णले अहिलेसम्म आफूहरुले उक्त नयाँ संशोधन विद्येयक नहेरेको दाबी गरे । उनले भने,‘प्रस्ताव दर्ता गरेरमात्रै हुँदैन, हामी मान्छौं भनेकै छैनौं , हाम्रो देशमा प्रधानमन्त्री प्रचण्डजीले एक एक दिनमा कुरा फेर्नुहुन्छ ।’ उनले मोर्चाले भनेजस्तै प्रस्ताव आएको भए आफूहरुले त्यसलाई स्वागत गर्ने र सरकारले चाह्यो भने सुपर फाष्ट ट्रयाकमा संशोधन पारित गराउन सक्ने समेत विश्वास दिलाए । उनले भने,‘फाष्ट ट्रयाकमा संविधान जारी गर्नेहरुले संशोधन चाहे भने ५ दिनमा पारित गर्न सक्छन्, सुपर फाष्ट ट्रयाकमा पारित गराए भैहाल्छ नि ।’
उनले संविधान संशोधन नभईकन मधेशी मोर्चाले चुनावमा भाग नलिने स्पष्ट पारेका छन् । उनले भने,‘प्रतिनिधित्वको लागि कति लड्ने ? जनसंख्या र भूगोलको आधारमा प्रतिनिधित्व गर्ने सिद्धान्तलाई फलो गर्नुपर्छ ।’ कर्णले ५१.३ प्रतिशत जनसंख्या रहेको मधेशमा किन थोरै संख्या बनाईयो भन्दै प्रश्न समेत गरे । यसले गर्दा बजेटसमेत प्रभावित बनेको उनको गुनासो छ । उनले मधेशका सम्पूर्ण जनता आजको दिनसम्मपनि चुनावको पक्षमा नरहेको जनाए । उनले संसारमै स्थानीय तह प्रदेश मातहात हुने व्यवस्था उल्लेख गर्दै गर्दै नेपालमा भने प्रदेश सभा गठन नगरी स्थानीय तहको निर्वाचन गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे । यद्धपी उनले मोर्चा निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे। उनले थपे,‘हामी निर्वाचनको विरोधी होईनौं ।’
उनले प्रस्ताव आउनु नौलो कुरा नभएको समेत टिप्पणी गरे । कर्णले भने,‘यहाँ त प्रस्ताव आउँछ, फेरि फिर्ता हुन्छ, किनकी प्रस्ताव ल्याउने बेलामा प्रचण्डजीले हामीले भनेजस्तै गरी प्रस्ताव ल्याउँछु भन्नुहुन्छ, तर ल्याउने बेला अर्के प्रस्ताव ल्याउनुहून्छ ।’
उनले प्रस्ताव दर्ता भएपछि त्यसबारे कसरी अघि बढ्ने भन्नेबारे संभवत भोलि नै मोर्चाको बैठक बस्ने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुममा एक लाख मतदाता

२९ चैत्र २०७३, मंगलवार १८:३५
सदरलाइनडटकम  ३० चैत, रुकुम : आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । यहाँ पुरुष मतदाताभन्दा […]

सम्बन्धित