मधेशको स्वीकृति बिना कुनै सहमतिको अर्थ छैन : अशोक राई

१४ आश्विन २०७३, शुक्रबार १३:२६
 

सदरलाइनडटकम  

14501943_10208242050784030_2083703502_n १४ असोज, काठमाण्डौ : संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राईले मधेशको स्वीकृति नलिई गरिने कुनै पनि सहमतिको अर्थ नभएको बताएका छन् । मधेशलाई बाहिर राखेर राष्ट्रिय राजनीतिमा हुने कुनै पनि सहमति वा सम्झौता कार्यान्वयन हुनै नसक्ने नेता राईले ठोकुवा गरेका हुन् ।
फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले भने,–‘नेपालको मूल बासिन्दा मधेशलाई कसैले पनि बेवास्ता गर्न सक्दैन । यदि मधेशको अहित वा उसको स्वीकृति बेगर कसैले केही गर्छ भने परिणाम राम्रो हुँदैन ।’ नेपाल राज्य स्थापनाको जगदेखि महिसपाल र गोपालबंश हुँदै नेपालको शासन सत्ता सम्हालेका मधेशी समुदायको राष्ट्रियता माथि कसैले पनि औला तेर्साउन नेता राईले चेतावनी दिए ।


14501938_10208242051384045_1691708873_n
‘नेपालका मूल बासिन्दा मधेशी समुदायलाई अधिकार र पहिचानबाट बन्चित राख्न प्रायोजित रुपमा उनीहरुको राष्ट्रियतामाथि प्रश्न गरिन्छ’– फोरम नेपालका वरिष्ठ नेता राईले भने,–‘नेपालको मूल बासिन्दा त मधेशी हुन्, अनि उनीहरुलाई नै बाहिरिया भन्ने यो कस्तो राज्य हो ?’मधेशी र आदिवासी जनजाति मिलेर थालेको संघर्षबाट राज्य तर्सिएर वाहियात प्रचारवाजी गरेको राईले टिप्पणी गरे । कसैको अधिकार खोस्न आफूहरुले आन्दोलन नगरेको प्रष्ट पार्दै उनले मुलुकमा बस्ने हरेक जाति र समुदायले समान अधिकार पाउनु पर्छ भनेर संघर्षमा होमिएको बताए ।
हरेक समुदायको चाडपर्व, भाषा, भेष र पहिचानलाई राज्यले समान रुपमा सम्मान गर्नु पर्नेमा राईको जोड थियो । दसैंमा पड्किने तोप अन्य समुदायको पर्वमा पनि पड्किनु पर्ने उनले माग गरे । राज्यको विभेदकारी मानसिकताकै कारण अन्य समुदायको पर्वमा तोप नपड्किएको उनले बताए । दसैंमा पड्किने तोप ग्लाल्बो ल्होसारमा किन पड्किदैन?’ उनले भने, ‘विविधता सम्मान गर्न ल्होसार, साकेला, माघी, छठ सबै पर्वमा राज्यले तोप पड्काउनु पर्छ ।’
उनले मुलुकमा विविध साँस्कृतिक, भाषिक, धार्मिक समुदायको सम्मान गर्न र समान अधिकार प्रत्याभूति गर्न राज्य चुकिरहेको धारणा समेत राखे । उनले एउटा जाति, भाषा, धर्म र संस्कृतिलाई मात्रै राज्यले काखी च्यापेर बढ्न नसक्ने ठोकुवा गरे । संघीय समाजवादीका संसदीय दलका नेतासमेत रहेका राईले कसैको अधिकार खोस्न नभई समान हकहितको लागि आफूहरु लडिरहेको जिकिरसमेत गरे । ‘हाम्रो संघर्ष अन्याय र उत्पीडनविरुद्ध हो’, उनले भने, ‘कसैको अधिकार खोस्न होइन ।’
साथै, राईले मधेसी समुदायको नेपालप्रतिको भक्ति देखाउन हनुमानले जस्तै छात्ती चिरेर देखाउन नमिल्ने भएकाले कुनै शंका गर्न नहुने बताए । उनले माओवादी दश वर्षे जनयुद्धका बेला धेरै पहाडीयाले नेपालमा आफ्नो जमिन बेचेर भारत पलायन भएको तर मधेसी कतै नगएको प्रसंग जोड्दै प्रश्नोत्तर गरे, ‘यस देशको असली राष्ट्रिय भक्त को हुन् ? यसैबाट प्रस्टिन्छ ।’
राईले एमाले, माओवादी र कांग्रेसजस्ता पार्टी अन्यायको पक्षमा रहेका कारण उनीहरुको विरोधमा उत्रिनु परेको जिकिर समेत गरे । उनले तामाङसालिङ जागे, सिंहदरबारका शासकहरुले घुँडा टेक्न बाध्य हुने बताए ।

फोरम नेपालमा सयौं युवा प्रवेश

 संघीय समाजवादी फोरम नेपालमा रामेछापका सयौंको संख्यामा सक्रिय युवाहरु प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी उनीहरु फोरम नेपालमा संगठित भएका हुन् । रामेछाप जिल्ला कार्यसमितिद्वारा आयोजित फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्याक्रममा रामेछापका सक्रिय युवाहरूको एउटा प्रभावशाली समूह फोरम नेपालमा प्रवेश गरेको हो ।
फोरम नेपालका वरिष्ठ नेता अशोक राई, महासचिव राम सहाय यादव, उप महासचिव दान बहादुर विश्वकर्मा, ताम्सालिङ इन्चार्ज डा गणेश योन्जन लगायतले नव प्रवेशी युवाहरुलाई अबीर खादाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । यसअघि गत २५ भदौमा ३ सय ५० जनासमेत जिल्लामा पार्टी प्रवेश गरेको जिल्ला सचिव रोजबहादुर मोक्तानले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतविनाको सार्कको अस्तित्व छैन :पराष्ट्रविदहरु

१४ आश्विन २०७३, शुक्रबार १३:२६
सदरलाइनडटकम  १४ असोज काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले नेपाल अन्र्तराष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताएका हुन् । उनले अघि थपे,‘हामी ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा […]