प्रहरी हिरासतमा अचेत भेटेका यादवको उपचारका क्रममा मृत्यु

१६ भाद्र २०७५, शनिबार १८:४१
 

सदरलाइनडटकम,
नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा रहेका राममनोहर यादवको शुक्रवार राती मृत्यु भएको छ । बाँके जानकी गाउँपालिका–६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला अप्ठ्यारो महशुस भएपछि उपचारका लागि बर्दिया जिल्ला अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि प्रहरीले थप उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल ल्याएपनि आइसियू बेड खाली नभएकोले भेरी अस्पतालले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रेफर गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले जानकारी दिए ।
शिक्षण अस्पतालमा उपचाररत यादवको अवस्था जटिल बन्दै गएपछि प्रहरीको सहयोगमा उनलाई थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा शुक्रवार राती मृत्यु भएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
आफूलाई अपठ्यारो भएको भन्दै ड्यूटीमा बसेका प्रहरीलाई जानकारी गराउना साथ उपचारका लागि अस्पताल पु¥याएको बताए उनले छाती दुखेको र स्वास फेर्न समस्या भएको यादवले बताएको जानकारी दिए । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता भएको आरोपमा पक्राउ परेका यादवको बुधवार राति हातखुट्टा नचल्ने समस्या देखिएको थियो ।
यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले ७ भदौँमा जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी एक कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका सवैजनालाई राज्य विप्लवको मुद्दा लगाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । पक्राउ परेकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा अहिलेपनि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा छन् ।
यसअघि पनि प्रहरीले यादवलाई पटक–पटक पक्राउ गर्ने गरेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि नेपालगन्जको महेन्द्रपार्कबाट ६ चैत्र २०७२ मा पक्राउ गरि यादवसहित ८ जनामाथि प्रहरीले राज्य विप्लवको मुद्दा चलाएको थियो ।
सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले ३ फागुन २०७४ मा सफाई दिएको थियो । स्वतन्त्र मधेश गठबन्धनले ‘रंगभेदी दिवस’ १० मंसिर २०७३ मा नेपालगन्जमा आयोजना गरेको कार्यक्रमबाट यादवलाई गिरफ्तार गरी मंसिर १२ गते मात्र प्रहरीले छोडेको थियो ।
त्यसैगरी, स्थानीय निर्वाचन अगाडी २०७४ असार २ गतेपनि ‘नो भोट’ को प्रचार प्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा १९ असारमा यादव हिरासतमुक्त भएका थिए ।

Next Post

शैक्षिक महोत्सवमा बाह्र लाख बढी संकलन

१६ भाद्र २०७५, शनिबार १८:४१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ सन्तकुटीस्थित जनता नमूना माविलाई स्मार्ट विद्यालय निर्माणका लागि सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवमा दानवीरको उत्साहजनक सहभागिता रहेको छ । भदौ १३ गतेदेखि सञ्चालन गरिएको श्रीकृष्ण जन्माष्टमी शैक्षिक तथा धार्मिक महोत्सवमा वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले द्वन्द्वकालमा वेपत्ता पारिएकी आफ्नी […]